‘बोक्सीको घर’को कमाइ पहिलो हप्तामा ६ करोड ग्रस, दोस्रो भाग पनि बन्ने

‘बोक्सीको घर’को कमाइ पहिलो हप्तामा ६ करोड ग्रस, दोस्रो भाग पनि बन्ने

द सिनेमा टाइम्स
350
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘बोक्सीको घर’ले पहिलो हप्तामा ६ करोड माथिको व्यापार गर्ने अनुमान वितरक टिफल्क र डिसिएनले गरेको छ । सिनेमाले बुधबारसम्म पाँच करोड ४५ लाख ग्रस कलेक्सन गरेको जानकारी वितरकद्धयले दिएका हुन् ।

सिनेमाले हिजो बुधबार मात्रै एक करोड ६० लाख ब्यापार गरेको वितरक अशोक शर्माले बताए । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमालाई सफल बनाउने सम्पुर्ण दर्शकलाई अभिनेत्री तथा निर्मात्री केकी अधिकारी र निर्देशक तथा लेखक सुलक्षण भारतीले धन्यवाद ज्ञापन गरे । यस्तै, यो सिनेमालाई देशकै ठुलो मल्टिप्लेक्स चेनले सुपरहिट घोषणा समेत गरेको छ ।

योसँगै सिनेमा ‘बोक्सीको घर’को दोस्रो श्रृंखला निर्माण हुने जानकारी निर्माण टिमले दिएको छ । बिहीबार आयोजित कार्यक्रममा निर्माता टिमले चाँडै दर्शकले सिक्वेल हेर्न पाउने जानकारी दिइयो । २ दिनअघि नै हलमा चलिरहेको सिनेमामा ‘टु बि कन्टिन्युड’ वाक्यांश राखिएको निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले बताइन् ।

निर्देशक सुलक्षण भारतीले दोस्रो श्रृंखलाको स्क्रिप्ट लेखन सकिएको बताए । ‘स्क्रिप्ट लेखन सकिइसकेको छ,’ भारतीले भने, ‘बीचमा एउटा सिनेमा गरेर मात्र बोक्सीको घरको दोस्रो श्रृंखला बनाउँछु ।’ उनले अर्को सिनेमाको स्क्रिप्टको काम सकेर मात्र सिक्वेलको काम अघि बढाउने बताए ।

अभिनेत्री तथा निर्मात्री अधिकारीले ‘बोक्सीको घर’ सुपरहिट हुँदा आफूलाई सपनाजस्तो लागिरहेको बताइन् । उनले भनिन्, ‘साँच्चै भन्नुहुन्छ भने मलाई सररियल महसुस भइरहेको छ । मलाई हो कि होइन जस्तो लागिरहेको छ ।’ कथावस्तु बलियो हुनुपर्छ भन्ने पाठ यो सिनेमाबाट सिकेको केकीले बताइन् ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ ।