डिजिटल प्लेटफर्म सिनेमा घरको अपडेटेड भर्सन ‘गोल्ड’ सार्वजनिक

डिजिटल प्लेटफर्म सिनेमा घरको अपडेटेड भर्सन ‘गोल्ड’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – थ्री सिक्स्टी वन डिग्री मिडियाले विभिन्न नयाँ फिचरहरुको साथमा डिजिटल प्लेटफर्म ‘सिनेमा घर’को अपडेटेड भर्सन ‘सिनेमा घर गोल्ड’ सार्वजनिक गरेको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर शुक्रवार राजधानीमा आयोजित कार्यक्रमका बीच एप सार्वजनिक गरिएको हो । सन २०१६ देखि नेपालमा अनलाइनमा सिनेमा हेर्ने संस्कार बसाउन ‘सिनेमा घर’ एप सञ्चालनमा आएको थियो ।

शुक्रवारदेखि विश्वभर रहेका नेपालीहरुले ‘सिनेमा घर गोल्ड’मा उच्च गुणस्तरमा नेपाली सिनेमा हेर्न पाउने छन् । यस एपमा अंग्रेजी नयाँ वर्षको अवसरमा ६ वटा नेपाली सिनेमा एकसाथ रिलिज गरिएको छ । ‘सिनेमा घर गोल्ड’मा फिचर सिनेमाका साथै छोटो सिनेमा, स्ट्याण्डअप कमेडी तथा वेब सिरिजहरु रिलिज गरिने थ्री सिक्स्टी वन डिग्री मिडियाद्धारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।

शुक्रवारबाट ‘सिनेमा घर गोल्ड’मा ‘डमरुको डण्डीवियो, कोहलपुर एक्सप्रेस, सरौतो, ब्लाइन्ड रक्स, मंगलम र कागजपत्र’ हेर्न पाइनेछ भने स्ट्याण्डअप कमेडी र छोटो सिनेमा पनि राखिएको छ । यस एपमा महिनै पिच्छे नयाँ सामाग्री थप्दै जाने बताइएको छ । पाँच सयमा एक वर्षभरी ‘सिनेमा घर गोल्ड’मा आउने सामाग्रीहरु हेर्न पाउने सुविधा पनि दर्शकहरुलाई दिइएको छ ।

विभिन्न कारणले हलमा पुगेर सिनेमा हेर्न नपाउने दर्शकलाई डिजिटल माध्यमबाट सिनेमा हेर्न लामो समय पर्खन नपरोस् भन्ने उद्देश्य ‘सिनेमा घर गोल्ड’को रहेको कार्यक्रममा जानकारी दिइएको थियो । यसमा ‘सिनेमा घर वालेट’ जस्तो महत्त्वपूर्ण फिचर समेत राखिएको छ । ‘सिनेमा घर गोल्ड’को सार्वजनिक कार्यक्रममा खगेन्द्र लामिछाने, दयाहाङ राईलगायतका सिनेमाकर्मी उपस्थित थिए ।

संस्थाको सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘सिनेमा घर गोल्ड’ एन्ड्रोइड टिभी, एन्ड्रोइड तथा आइओएस सिस्टमका मोबाइल र ट्याब्लेटलगायतका स्मार्ट डिभाइसमा सजिलै डाउनलोड गरी हेर्न सकिनेछ । क्रोमकास्ट प्रविधिकको प्रयोग गरी मोबाइल फोनबाट क्रोमकास्ट सपोर्ट गर्ने विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिन्छ । संसारका जुनसुकै स्थानबाट ‘सिनेमा घर गोल्ड’को ग्राहक बन्न सकिन्छ ।’