विदेशी सिनेमाको शुल्कले नेपाली सिनेमाको प्रवर्द्धन हुँदैन : बोर्ड अध्यक्ष

विदेशी सिनेमाको शुल्कले नेपाली सिनेमाको प्रवर्द्धन हुँदैन : बोर्ड अध्यक्ष

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्र विकास बोर्ड कोरोना महामारीका कारण धरासायी बन्दै गएको बताएका छन् ।

‘चलचित्र विकास बोर्ड गठनको उद्देश्य नेपाली कला संस्कृतिको प्रवर्द्धन गर्नु हो । साथै नेपाली कलाकार र सिनेमाको उत्थान गर्ने पवित्र उद्देश्यका साथ यसको गठन भएको थियो । बोर्ड गठनको लागि हामीले नेपाल सरकारलाई धन्यवाद पनि दिनुपर्छ । तर, यसको संचालनको लागि जुन स्रोत खोजिएको छ, त्यहाँबाट यसको सम्बर्द्धन र उत्थान हुने स्थिति नै छैन’ उनले भने ।

‘नेपाल सरकारले विदेशी सिनेमाको शुल्क लिएर नेपाली सिनेमाको प्रवर्द्धन गर भन्नु नै आफैमा विरोधाभास छ । जबसम्म यो विरोधाभास नितिलाई सच्याउँदैनौं नेपाली सिनेमाको प्रवर्द्धन हुन सक्दैन । किन भने चलचित्र विकास बोर्डलाई स्रोत धेरै चाहिएको बेलामा विदेशी सिनेमाको प्रमोशन गर्नुपर्ने हुन्छ । नत्र विकास बोर्डको स्रोत जिरो हुन्छ । जसरी कोरोनाको कारण १० महिना सिनेमा हल बन्द हुदाँ विकास बोर्डको स्रोत जिरो भएको छ । विदेशी सिनेमाको नुन खाएर नेपाली सिनेमा हलमा ताला लगाउ भन्नु गलत हो ।’

बोर्डका अध्यक्ष दाहालले आफुले सरकार सामु राखेको माग बारे सुनाउदै भने, ‘विकास बोर्डमा आएदेखि मेरो के माग छ भने चलचित्र विकास बोर्डले अगाडी सारेका कार्यक्रमको आधारमा नेपाल सरकारले बजेट विनियोजन गर्न व्यवस्था हुनुपर्छ । यो मेरो माग जहिल्यै रहन्छ । किन भने विदेशी सिनेमाको शुल्क उठाएर नेपाली सिनेमाको प्रवर्द्धन हुन सक्दैन । यसले कतिपय ठाउँमा हाम्रा बाटाहरु अवरोध भएका छन् ।’