सिनेमा क्षेत्रलाई चलायमान बनाउन सबै पक्ष मिलेर जानुको विकल्प छैन्

सिनेमा क्षेत्रलाई चलायमान बनाउन सबै पक्ष मिलेर जानुको विकल्प छैन्

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शुक्रबार आयोजना गरेको अर्न्तक्रिया कार्यक्रममा कोरोना महामारीका बीच सिनेमा क्षेत्रलाई चलायमान बनाउन सबै पक्ष मिलेर जानुको विकल्प नभएको सरोकारवालाले बताएका छन् ।

कोरोनाका कारण दर्शक हलसम्म पुग्ने सक्ने अवस्था अझै बनि नसकेको भन्दै कम्तिमा हप्तामा एक मात्रै सिनेमा रिलिज गर्नुपर्ने निष्कर्ष निकालेका हुन् । बन्द भएका सिनेमा हल बिस्तारै खुल्ने क्रम शुरु भएपनि अझै पनि दर्शकहरु हलसम्म पुग्न नसकेको बताउँदै सरोकारवालाले सिनेमा क्षेत्रलाई गतिशिल बनाउन सिनेमाकर्मी र राज्य दुवै गम्भिर बन्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा सिनेमा हल संचालक ललित श्रेष्ठले कोरोना महामारीका कारण हल लामो समय बन्द हुँदा श्रमिकलाई पारिश्रमिक दिन समस्या परेको बताए । अहिले हल संचालनका लागि आफु तयार भएपनि राम्रा सिनेमा रिलिज नहुँदा आफुहरु समस्यामा परेको उनको भनाई छ ।

कार्यक्रममा निर्माता रोहित अधिकारीले कोरोनाका नयाँ सिनेमा रिलिज गर्न निर्माता डराएको बताए । हलमा दर्शक आउने वातावरण नबनेका कारण सवैभन्दा पहिले सुरक्षित तवर दर्शकलाई सिनेमा हेर्ने अवस्था निर्माण गर्नुपर्छ । सिनेमा हल सञ्चालनको लागी सरकार गम्भिर नभएको भन्दै अहिलेको अवस्थामा सिनेमाकर्मीलाई अनुदानको व्यवस्था गर्न आवश्यक छ । साथै अहिले सिनेमा हल खुलेको जस्तो देखिएपनि पुर्ण रुपमा सञ्चालनमा आउन नसकेको भन्दै सम्पुर्ण हल सञ्चालमा ल्याउन व्यावसायी तयार हनुपर्नेमा रोहीतले जोड दिए ।

कार्यक्रममा निर्माता तथा निर्देशक मुनाल घिमिरेले कोरोनाका बन्द भएका हल संचालनमा विकास बोर्डको भूमिका कमजोर देखिएको बताए । उहाँले कोरोनाकै बिचमा निर्माता सिनेमा रिलिज गर्न तयार रहेको भन्दै राज्यले हल संचालनका लागि उचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

विकास बोर्डका पूर्व अध्यक्ष डा.अमर गिरीले हल संचालन गर्ने कुरा डिर्पाटमेन्टल स्टोर खोलेजस्तो नभएको बताए । उहाँले दर्शकमाझ कोरोनाको डर कायमै रहेको हुँदा हलमा सुरक्षाको अनुभूति दिलाउनका लागि हल संचालकले ध्यान दिनुपर्ने जोड दिए । विकास बोर्डले हल संचालनका लागि आवश्यक सुरक्षा सामाग्री दिन पहल गर्न आवश्यक रहेको उनको भनाई छ ।

दाङ शाखाका अध्यक्ष शिब पुनको अध्यक्षता तथा विकास बोर्डका पूर्व अध्यक्ष डा.अमर गिरीको प्रमुख अतिथि र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका निवर्तमान अध्यक्ष धुव्रराज न्यौपाने र सचिव पूर्ण केसीले गर्नुभएको थियो ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल दाङका सल्लाहकार शरद रेग्मी, डा.लोकराज पराजुली, हाँस्य कलाकार कमल गाउँले लगायतका कलाकर्मीले कोरोना जोखिमकै बिचमा सबै क्षेत्र चलायमान भइसकेको अवस्थामा सिनेमा क्षेत्रलाई चलायमान बनाउनुको विकल्प नभएको बताए ।