बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ बन्दै

बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ बन्दै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अत्याधुनिक सिनेमा छायाङ्कनस्थल स्टुडियोको निर्माणार्थ बनेपा नगरपालिका–१० भैँसेपाटीमा प्रक्रिया थालिएको छ । विकास बोर्डका अनुसार यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) बोलपत्रको प्रक्रिया शुरु गरिएको छ ।

बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माणको प्रक्रियागत काम शुरु भएको बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । ‘भैँसेपाटीमा सबैभन्दा पहिला सुटिङका लागि एउटा भवन निर्माण हुनेछ, त्यसपछि क्रमशः सुटिङका लागि आवश्यकीय भवनलगायतका संरचना बन्दै जानेछन्’, उनले भने । उनका अनुसार ‘आउटडोर’ र यहाँबाट देखिने वातावरणीय सुन्दरतालाई ध्यानमा राखेर छायाङ्कन स्टुडियो निर्माण हनेछ ।

इन्डोरमा अस्पताल, प्रहरी चौकी, कारागार, ठूला भवनका भित्री भाग देखिने खालका तथो प्रोटेबल सेटहरू निर्माण गरिने अध्यक्ष दाहालले बताए । आउटडोरमा नेपाली सिनेमाको इतिहासको अध्ययन गर्नेहरुका लागि चलचित्र म्युजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशनकक्ष र स्टुडियोसँगै सिनेमा सम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण निर्माण हुने योजना बनाइएको छ ।

‘मिनी सिनेमा सिटी’को अवधारणा लिइएको योजनाको जमिनका लागि वन मन्त्रालयमा कागजात पुगेको र वातारणीय प्रभाव मूल्याङ्कन इआइए गर्नुपर्ने काम अघि बढाइएको छ । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्टुडियो निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेका थिए । सिनेमा छायाङ्कन स्टुडियोका लागि भैँसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको हो । बहुद्देश्यीय परियोजना भएकाले पहिलो चरणमा इन्डोर छायाङ्कन स्टुडियोको डिपिआर बनाई काम शुरु गरिने योजना छ ।