सिनेमा टुरिजमः सम्बन्ध र सम्भावनाको चर्चा गर्दै सकियो ‘सिनेमा संवाद एट घान्द्रुक’

सिनेमा टुरिजमः सम्बन्ध र सम्भावनाको चर्चा गर्दै सकियो ‘सिनेमा संवाद एट घान्द्रुक’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ कास्की शाखाको आयोजनामा घान्द्रुकमा मंगलबार ‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा निर्देशक सुदर्शन थापा, निर्माता तथा कलाकार दीपकराज गिरी र दिनेश डिसी लगायतका सिनेमाकर्मीको उपस्थीती रहेको थियो । कार्यक्रममा ‘सिनेमा टुरिजमः सम्बन्ध र सम्भावना’ र ‘सिनेमा साहित्य : सम्बन्ध र साझेदारी’ बारे छलफल चल्यो ।

छलफलको पहिलो सेसन ‘सिनेमा टुरिजमः सम्बन्ध र सम्भावना’ मा वक्ताको रुपमा नेपाली सिनेमाका निर्देशक सुदर्शन थापा, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई र पत्रकार वासु मिश्रले सहजीकरण गरे । छलफलको सुरुवातमै सहजकर्ता मिश्रले वक्तातर्फ भावार्थ रुपमा नेपाली भूगोललाई नेपालीले नै चिन्न नसकेको र पर्यटन प्रर्वद्धनमा ठूलो आयतनमा सहयोग नपुगेको बताए । कोभिड पछि अत्यन्तै प्रभावित क्षेत्रमध्ये सिनेमा र पर्यटन दुबै पर्छन् ।

अहिलेको पर्यटन क्षेत्रको अवस्था कस्तो छ त ? ‘कोरोनाले हरेक क्षेत्रलाई अस्तव्यस्त बनाएको छ । कोरोना साम्य बन्दै गएपछि भने विस्तारै लयमा फर्किदैछ, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले भने, ‘आन्तरिक पर्यटनलाई कसरी पुर्नस्थापना गर्न सकिन्छ भनेर नेपाल सरकारसँग समन्वय गरिरहेको अवस्था छ ।’

निर्देशक सुदर्शन थापाले कोभिडले सम्पूर्ण क्षेत्रलाई असर गरेको भन्दै सिनेमा र पर्यटन दुबै क्षेत्र पनि अति प्रभावित भएको बनाए । ‘पर्यटन र सिनेमा एकदमै जोडिएको विषय हो । सिनेमा छायांकनका लागि विभिन्न ठाउँमा पुगिन्छ । म पनि १२ वर्ष अघि घान्द्रुक आएको थिएँ ।’ आफू १२ वर्षअघि ‘मेरो एउटा साथी छ’ सिनेमाको सुटिङका लागि नयाँपुलदेखि खच्चरमा सामान बोकाएर घान्द्रुक आएको स्मरण गर्दै उनले भने, ‘सिनेमाले पर्यटनलाई सहयोग त गर्छ नै । म त्यसबेला र अहिले आउँदा घान्द्रुक धेरै परिवर्तन भइसकेको छ’, उनले भने ।

दोस्रो तथा अन्तिम सेसन ‘सिनेमा साहित्यः सम्बन्ध र साझेदारी’मा यस्तै विषयमा छलफल चल्यो । सेसनमा वक्ताहरुमा कलाकार दीपकराज गिरी, लेखक गनेश पौडेल, कवि भूषिता वशिष्ठ र सहजकर्ता दिनेश डिसी थिए । वक्ताहरुसँग सहजकर्ता डिसीले साहित्यीक कृतिमाथि बनेका सिनेमाहरुको समीक्षा अनुभवबारे प्रश्न गरे । कवि भूषिताले सिनेमाको संवादमा मौलिकता हुनुपर्ने बताइन् ।

कलाकार दीपकराज गिरीले लेख्ने चिज र बोल्ने चिज दुबै फरक भएको बताए । ‘व्यावहारिक जीवनसँग जोडिने संवादले सिनेमामा दर्शकलाई जोड्छ । साहित्यबाट सिनेमा रुपान्तरित हुन्छ ।’ साहित्यमाथि सिनेमा पर्याप्त मात्रामा नबन्नुको कारण सिनेमाकर्मी दर्शकसँग डराएको कलाकार गिरीले सुनाए । उनले भने, ‘लेखिने र बोलिनेमा फरक हुन्छ नै । जटिलता हुने कारणले गर्दा पनि होला नेपालमा साहित्यमाथि सिनेमा बनेन् ।’

लेखक गनेस पौडेलले पञ्चायती व्यवस्थाको ह्याङओभर अझै पनि नेपाली सिनेमाबाट उत्रिन नसकेको बताए । ‘पञ्चायतमा राजा महेन्द्रले नेपाली सिनेमामा प्रयोग गरिने संवादलाई शुद्धिकरण गर्न र भाषिक एकीकरण गर्नका लागि पात्रले बोल्ने संवाद मौलिक लागेनन् । त्यसको ह्याङओभर अझै बाँकी छ । सिनेमा कला हो भाषा होइन ।’ आफ्नो परम्परा र संस्कृतिलाई घुसाएर हरेक प्रकारका कला सिनेमा देखाउन सकिने उनले बताए ।

यता कलाकार गिरीले भने एकाध सिनेमालाई गनेर सिनेमा क्षेत्रको इतिहासलाई ५० वर्ष मान्न नहुने बताउँछन् । प्रजातन्त्रको पुर्नस्थापना पछि नै नेपाली सिनेमाको उत्थान भएको उनको भनाई छ । नेपाली सिनेमाले ३० वर्षको यात्रा मात्र पार गरेको उनले दाबी गरे । ‘उपन्यासमा डायलग थोरै र विवरण धेरै हुन्छन् । सिनेमा दृश्य भाषामा बोल्नु पर्ने हुन्छ त्यसमा पनि सीमितता छ । अर्को बजेटले पनि प्रभाव पार्छ, कलाकार गिरीले भने, ‘मार्केटले भन्छ, दुई करोड भन्दा माथि लग्यो भने डुब्यौं । एउटा भिलेनले हिरोलाई लखेटेको सिन देखाउनलाई होली सिनका लागि पाँच सय मान्छे जम्मा पार्न बजेटले नथेग्ने हुन्छ ।’ साहित्यसँग सिनेमाको साझेदारीको प्रश्नमा कवि भूषिताले सिनेमाकर्मी साहित्यकारहरुसँग डराउन नहुने बताइन् ।

कार्यक्रम समापन गर्दै चलचित्र पत्रकार संघ  कास्कीका अध्यक्ष अरुण गिरीले लामो समयको बन्दाबन्दी पश्चात खुलेको पर्यटन र सिनेमा क्षेत्रको प्रचार प्रसारका लागि आफुहरुले उक्त कार्यक्रमको आयोजना गरेको जानकारी गराए । ‘हाम्रो टिमलाई कोरोना पछि पनि केही न केही कार्यक्रम गरौं भन्ने लागेको थियो । साहित्य, पर्यटन र सिनेमा तीनै क्षेत्रमा काम भइरहेका थिएनन् । फेरि पछिल्लो समय सिनेमा भित्र साहित्य र पर्यटन दुवै अटाउन थालेका छन् । हामीले तीनै क्षेत्रलाई एउटै मञ्चमा प्रस्तुत गर्ने निर्णय गर्यौं । जसमा पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङ र लामा अमृत फाउन्डेसनका अध्यक्ष अमृत गुरुङको साथ मिल्यो । अनि मात्र आँट गर्यौं ।’

अरुण गिरीले छोटो समयको तयारीमा ‘सिनेमा संवाद एट घान्द्रुक’ सम्पन्न भएको बताए ।  स्वागत मन्तव्य किसम गुरुङले राखेका थिए भने संचालन सचिव प्रभु अधिकारीले गरेका थिए । सिनेमा संवाद कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, अन्नपूर्ण गाउँपालिका, नेपाल टुरिजम बोर्ड, इसेवा, कुटी रिर्सोट एण्ड स्पा, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, पर्यटन व्यवस्थापन समिति घान्द्रुक, परिचय एडभरटाइजिङ, गुरुङ चलचित्र शिरसुबा, अमृत लामा फाउन्डेसन घान्द्रुक, मूल आमा समूह घान्द्रुक र डाँडा गाउँ युवा परिवार घान्द्रुकले सहयोग गरेको थियो ।