चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाद्धारा पत्रकार तथा कलाकार पृरस्कृत

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाद्धारा पत्रकार तथा कलाकार पृरस्कृत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाले पत्रकार र कलाकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । संघको आइतबार आयोजित साधारण सभाले तीन पत्रकार र एक कलाकारलाई नगद सहित सम्मान तथा पुरस्कृत गरेको हो ।

सिनेमा पत्रकारिता मार्फत यस क्षेत्रको विकासमा टेवा पुर्याएको भन्दै संघले अनलाइन खबरका विजय आवाजलाई सेन्ट्रल कलेज राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार, चितवन पोष्टका किशोर खनाललाई एजर एभियसन सक्रिय चलचित्र पत्रकारिता पुरस्कार र एटुजेड समाचारका सुशील पन्तलाई नन्दप्रसाद–सुशीला युवा चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानीत गरेको छ ।

सम्मानीत सबै पत्रकारलाई ५ हजार ५ सय ५५ रुपैयाँ नगद, प्रमाण तथा दोसल्ला सहित सम्मान गरिएको हो । यसैगरी, चितवनमा रहेर नेपाली कला क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै संघले कलाकार ऋद्धिचरण श्रेष्ठलाई इन्द्रदेव कलाकारिता पुरस्काबाट सम्मान गरेको छ । श्रेष्ठलाई पनि नगद पाँच हजार ५ सय ५५ रुपैयाँ, सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

साधारण सभाका प्रमुख अतिथि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले चितवनका रङ्ग पत्रकारहरुले कलाकारितासँगै अन्य क्षेत्रमा पनि कलम चलाएको उल्लख गरे । सिनेमाकर्मी र पत्रकारहरु सहकार्य गर्दै अगाडि बढेमा नेपाली सिनेमा क्षेत्रको शिर उच्च हुने धुर्मुसले बताए ।

कार्यक्रमको अध्यक्षता चलचित्र पत्रकार संघ चितवनका अध्यक्ष रवि अधिकारीले गरेका थिए । साधारण सभाको बन्द सत्रमा चलचित्र पत्रकार संघ चितवनका सचिव आनन्द पोखरेलले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रवीन सुवेदीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भयो ।

साधारणसभाले यसै वर्ष २० जना पत्रकारहरुलाई चलचित्र पत्रकार संघ चितवनको साधारण सदस्यता वितरण गर्ने निर्णयसमेत गरेको सचिव पोखरेलले बताए । जिल्लामा हुने हरेक काम केन्द्रसँग सहकार्य गरेर गर्ने र चाँडै राष्ट्रिय स्तरको कार्यशाला गर्ने निर्णय भएको सचिब पोखरेलले जानकारी दिए ।

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको साधारण सभामा नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण प्रसाद अधिकारी, चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन पराजुली, प्रेस सङ्गठन चितवनका संयोजक प्रकाशमणि ज्ञवाली, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललगायतको पनि उपस्थिति रहेको थियो ।