‘तिम्रो मेरो साथ’ इन्डकल्याप : पहिले अमेरिका, अष्ट्रेलिया र बेलायतमा रिलिज

‘तिम्रो मेरो साथ’ इन्डकल्याप : पहिले अमेरिका, अष्ट्रेलिया र बेलायतमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘तिम्रो मेरो साथ’को छायांकन सकिएको छ । पोखरामा शनिबार एक कार्यक्रम आयोजना गर्दै सिनेमाको छायांकन सकिएको घोषणा गरिएको हो । ३३ दिनमा सिनेमाको छायांकन सकिएको छ । 

उक्त कार्यक्रममा सिनेमाका निर्माता, निर्देशक तथा गीतकार रमेश एम.के पौडेलले सिनेमाको छायांकन अवधिभर साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे । ‘सुन्दर शहर पोखराबाट सिनेमाको छायांकन सकिएको घोषणा गर्न पाएकोमा हामी दंग छौं । सबैमा धन्यबाद ।’ उनले भने, ‘यस्तै साथ र समर्थन आगामी दिनमा पनि पाउने आशा र विश्वासमा छौं ।’

अभिनेता पुष्प खड्काले सिनेमा राम्रो बनेको दाबी गरे । उनले सबै वर्गका दर्शकहरुको रुचीलाई ध्यानमा राखेर सिनेमा निर्माण गरेका बताए । त्यस्तै, कलाकार सन्दिप क्षेत्रीले यो सिनेमाले आफ्नो कलाकारिताको यात्रामा नयाँ फड्को मार्ने दाबी गरे ।

दुई करोड लगानीमा बनेको सिनेमा नेपाल भन्दा पहिले अमेरिका, अष्ट्रेलिया र बेलायत लगायतका देशहरुबाट प्रदर्शनमा आउने छ भने नेपालमा दशै र तिहारको बीचको समयमा रिलिज गरिने भएको छ ।

बोधी एच डि र आर्यन फिल्मसको ब्यानरमा बनेको सिनेमामा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सरोज खनाल, सन्दिप क्षेत्री र खगेश्वर पुन मगर (खबपू) लगायतका कलाकारहरुको अभिनय रहेको छ ।