तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न

तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न भएको छ । फागुन ६ गते बिहिबारबाट सुरु भएको कार्यशाला फागुन ८ गते सम्पन्न भएको हो । चलचित्र विकास बोर्डको सभा हलमा भएको कार्यशाला ४० भन्दा बढी पत्रकारहरु सहभागी थिए । 

संघका संगठन उपाध्यक्ष कुवेर डंगोल संयोजक रहेको तीन दिने फोटाग्राफी तथा भिडियोग्राफी कार्यशालाको समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथी रहेको कार्यक्रम चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यशालाले पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिकामा खेलेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । दाहालले क्षमता विकास गर्ने कार्यमा बोर्ड सधै सहकार्य गर्न तयार रहेको समेत प्रस्ट्याए । ‘हाम्रो क्षेत्रलाई अगाडी बढाउन दक्ष जनशक्ति चाहिन्छ र त्यो यस्तै कार्यशालाबाट उत्पादन हुनेछन्’ अध्यक्ष दाहालले भने, ‘कोरोनाको महामारी बिस्तारै घट्दै गर्दा बोर्डले पनि उपलब्धि मुलक काममा आफुलाई अगाडी बढाउदै लानेछ ।’ साथै दाहालले आउँदो श्रावणमा हुन लागेको विकास बोर्डको बार्षिकोत्सवमा एक जना फोटोग्राफरलाई पुरस्कृत गर्ने घोषणा गरेका छन् । 

त्यस्तै, कोरोना महामारीबाट जीवन सामान्य तर्फ बढ्दै गर्दा संघले आफ्नो कार्यक्रमलाई अगाडी बढाई रहेको अध्यक्ष दिनेश सिटौलाले बताए । ‘कोरोनाको महामारी बिस्तारै कम हुदै गर्दा हामीले आफ्नो योजनालाई अगाडी बढाई रहेका छौं’ अध्यक्ष सिटौलाले भने, ‘तीन दिनमा प्राप्त गरेको सिकाइलाई अनुसासित भएर अनुसरण गर्नुस् ।’ उनले संघको योजना अनुरुप अन्य कार्यक्रमलाई पनि अगाडी बढाउदै लैजानेमा जोड दिए । 

संघले प्रशिक्षार्थी मध्येबाट उत्कृष्ट फोटो खिच्ने एक जनालाई लेन्स पुरस्कार दिइएको छ । उक्त पुरस्कार योगेन्द्र भुजेलले प्राप्त गरेका छन् । कार्यशालामा हरी न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काफ्ले, दिनेश डिसी, दीपक गुरुङ, दीलिप थापा मगर, श्याम श्रेष्ठ, र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीको बारेमा प्रशिक्षण दिएका थिए । समापन समारोहमा वरिष्ठ सिनेमा पत्रकार विजय रत्न तुलाधरसंगै पत्रकारहरु सुव्रत आचार्य, राजन घिमिरे, कृष्ण भट्टराई , लक्ष्मण सुवेदी, राज श्रेष्ठ, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतको उपस्थिति रहेको थियो । समापन समारोहमा धन्यवाद ज्ञापन संघका कार्यक्रम उपाध्यक्ष जीवनकुमार पराजुलीले गरेका थिए भने कार्यक्रम संचालन महासचिव समीर बलामीले गरेका थिए ।