दीपेन्द्रको छोटो सिनेमा ‘वरदान’मा दयाहाङ र नम्रता

दीपेन्द्रको छोटो सिनेमा ‘वरदान’मा दयाहाङ र नम्रता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा छोटो सिनेमा ‘वरदान’ निर्माण भएको छ । सम्बोधनपछि यो सिनेमामा अभिनेता दयाहाङ राई नम्रता श्रेष्ठले दोस्रो पटक सहकार्य गरेका छन् । सिनेमाको छायांकन शनिबार ललितपुरमा सकिएको छ ।

सिनेमाले मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय उठाएको छ । विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथा दर्शकले हेर्न पाउनेछन् । मुख्य भूमिका नम्रताले निर्वाह गरेकी छिन् । कोसिस नेपाल सिनेमाका निर्माता हुन् ।

कोरोना र लकडाउनपछि मानसिक स्वास्थ्यबारे बहस बढेकोले यस विषयमा सिनेमा बनाउने सोच पलाएको निर्देशक लामाले बताए । ‘डिप्रेसनमा गएकले आत्महत्याको बाटो रोज्ने सम्भावना धेरै रहन्छ, तर हामीले बेलैमा सही सल्लाह लिन वा दिनसक्यौं भने उनीहरुलाई बचाउन सक्छौं । डिप्रेसनबाट उठेर अरुलाई समेत प्रेरणा दिँदै सकारात्मक जीवन बाँचिरहेकी हुनाले नम्रतालाई नै मुख्य भूमिकामा छनोट गरिएको हो’, निर्देशक लामाले बताए ।

करिब २० मिनेट अवधिको सिनेमामा नम्रता र दयाहाङका अलवा प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले अभिनय रहेको छ । शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेस श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको सिनेमा केही हप्तापछि अनलाइन प्लेटफर्ममा रिलिज गर्ने तयारी निर्माण टिमको छ ।