हाम्रो इन्डस्ट्री चलायमान बनाउन हिन्दी सिनेमाको भर पर्नु हुँदैन : निश्चिल

हाम्रो इन्डस्ट्री चलायमान बनाउन हिन्दी सिनेमाको भर पर्नु हुँदैन : निश्चिल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक तथा अभिनेता निश्चल बस्नेतले सिनेमा क्षेत्रलाई चलायमान बनाउनको लागि हिन्दी सिनेमाको भरमा बस्न नहुने बताएका छन् । बिहिबार ‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले बलिउड-हलिउड सिनेमालाई कुरेर बस्दा नेपाली सिनेमा क्षेत्र कमजोर रहेको प्रष्ट देखिएको बताए ।

‘सबै क्षेत्र खुलिसकेको छ । सिनेमा क्षेत्र खुलेको छ, तर केहि भएको छैन । यसलाई चलायमान नबनाउने हो भने हामीले सिनेमा बनाएको काम लाग्दैन । यो इन्डस्ट्रीलाई अगाडी बढाउन सरकारले केही गर्ला भनेर कुर्नु भन्दा पनि हामी आफैले के गर्न सक्छौं सोच्नुपर्छ । कहिले काहीँ रिक्स लिनुपर्छ’ उनले भने ।

‘अहिले सबैजना एउटा ठूलो हिन्दी सिनेमा आओस्, त्यसले हलमा दर्शकहरु आउने वातावरण बनाइदियोस् । त्यसपछि हाम्रो सिनेमा लगाउला भनेर कुरेर बस्नु भएको छ । निर्माताको हिसाबले त्यो जायज पनि छ । लगानी उठ्ला नउठ्ला धेरै रिक्स छ । तर, हाम्रो इन्डस्ट्री चलायमान बनाउनको लागि बलिउड-हलिउड सिनेमामा भर पर्नुपर्छ भने हामी कति कमजोर रहेछौं भनेर प्रष्ट भइरहेको छ । यस्तो बेलामा निर्मातालाई सिनेमा रिलिज गर्न सबैले हौसला दिनुपर्छ ।’

उनले चलचित्र विकास बोर्डले सिनेमा क्षेत्र चलयमान बनाउन सञ्चार मन्त्रालयलाई पहल गर्नुपर्ने बताउदै भने, ‘यो बेला सबैभन्दा बढी काम गर्नुपर्ने चलचित्र विकास बोर्डले हो । नेपालमा स्टुडियो बनाउने र अरु कुराहरुलाई पर्खिन सकिन्छ । जब इन्डस्ट्री चलायमान भयो भने स्टुडियोमा गएर खिचौंला । अहिलेको समयमा चलचित्र विकास बोर्डले सञ्चार मन्त्रालयसँग समन्वय गरेर कसरी हुन्छ निर्मातालाई सिनेमा रिलिज गर्न सजिलो वातावरण बनाइ दिनुपर्छ ।’

त्यस्तै, अभिनेता भुवन केसीले शतप्रतिशत अकुपेन्सीमा सिनेमा रिलिज गर्न सरकारको ध्यान आकर्षण गर्नुपर्ने बताए ।