निर्देशक समाजद्वारा हेमबहादुरलाई ‘लाइफटाइम अचिभमेन्ट’ सम्मान

निर्देशक समाजद्वारा हेमबहादुरलाई ‘लाइफटाइम अचिभमेन्ट’ सम्मान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र निर्देशक समाजले १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतबार चलचित्र विकास बोर्डको सभा हलमा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ सिनेमा निर्देशक एवम् निर्माता हेमबहादुर लामालाई ‘लाइफटाइम अचिभमेन्ट’ सम्मान प्रदान गरिएको छ ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लामालाई सम्मान प्रदान गरे । सम्मानित निर्देशक लामाले नीजि क्षेत्रबाट सिनेमा बन्न थालेपछि ‘आदर्श नारी’ को निर्माण तथा निर्देशन गरेका थिए । सिनेमामा लामाकै कथा, पटकथा तथा संवाद पनि थियो ।

उक्त कार्यक्रममा सिनेमा निर्देशकहरु युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी तथा नारायण पूरीलाई सम्मान गरियो । युवा सिनेमा निर्देशक सम्मान निर्देशक ऋषि लामिछाने र महिला निर्देशक दीपाश्री निरौलालाई प्रदान गरियो ।

समारोहमा संस्थाको विगतदेखि वर्तमानसम्मको वृत्तचित्र प्रदर्शन गरिएको थियो भने स्रष्टाहरुलाई रेडकार्पेटमा स्वागत गरिएको थियो । समारोहमा निर्देशक समाजले अक्षय कोषको समेत घोषणा गरेको छ । कार्यक्रममा निर्देशक समाजका सदस्यहरुलाई सदस्यता लिने बित्तिकै दुर्घटना बिमा हुने कार्यक्रमको घोषणा गरिएको थियो ।

समारोहमा निर्देशक तथा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, कलाकार नीर शाह, निर्माता राजकुमार राई, पशुपति क्षेत्र विकास कोषका अध्यक्ष घनश्याम खतिवडा, कान्तिपुर टेलिभिजन तथा कान्तिपुर रेडियोका स्टेशन मेनेजर दिनेश डिसी लगायतको उपस्थिति रहेको थियो । निर्देशक समाजकी अध्यक्ष रक्षा राणा हुन् ।