लयमा फर्किन नपाउँदै अन्योलमा सिनेमा क्षेत्र

लयमा फर्किन नपाउँदै अन्योलमा सिनेमा क्षेत्र

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लयमा फर्किन नपाउँदै सिनेमा क्षेत्र पुनः अन्यौलमा परेको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै प्रदर्शन मिति तय गरिसकेका सिनेमा पछि हटेका छन् ।

लगभग १० महिना बन्द रहेका सिनेमा हल गत पौष १० गते देखि सञ्चालनमा आएका थिए । ५० प्रतिशत अकुपेन्सीमा खुलेको हलमा निर्माताहरु सिनेमा चलाउन हिच्किचाई रहेका थिए । पौष देखि हलमा दुईटा मात्र नयाँ सिनेमा रिलिज भए । तर उक्त सिनेमाहरुले दर्शकलाई हलसम्म तान्न सकेन ।

आगामी चैत्र २७ गतेलाई ‘लप्पन छप्पन २, मनसँग मन र कृष्णलीला’ले प्रदर्शन तय गरेका थिए । नयाँ वर्ष देखि सिनेमा हलमा चहलपहल बढ्ने धेरैको अनुमान थियो । नेपालमा कोरोनाको जोखिम बढेसँगै यी सिनेमाहरुले प्रदर्शन स्थागित गरिसकेका छन् । यहि मितिमा ‘गुड फ्रेन्ड’ र ‘श्री’ रिलिज हुने भएको छ । तर, ठूला ब्यानरका सिनेमाले प्रदर्शन मिति तय गर्न नसक्दा हलवाला निकै मारमा परेका छन् ।

हुन् त निर्माताहरुको पनि आफ्नै गुनासो छ । तर, निर्माताहरुले हिम्मत जुटाउन नसक्दा एक वर्ष देखि हल शुन्य भएको छ । कतिपय निर्माताहरु विदेशी सिनेमाले दर्शकलाई हलसम्म ताने वातावरण बनाएपछि सिनेमा प्रदर्शन गर्ने सोचमा थिए । भारतमा कोरोना महामारीको दोस्रो लहर बढेसँगै प्राय बलिउड सिनेमाले प्रदर्शन मिति स्थागित गरिरहेका छन् । बलिउड सिनेमा धमाधम प्रदर्शन मिति स्थागित गरेपछि आगामी दशैं अगाडी सिनेमा रिलिजको माहोल नबन्ने सिनेमाकर्मीको बुझाई छ ।

भदौको लागि ‘चिसो मान्छे,  ए मेरो हजुर ४, सम्हालिन्छ कहिले मन र आइ एम् ट्वान्टी वान’ले प्रदर्शन मिति घोषणा गरेपनि सोहि महिना अन्य केहि सिनेमाको प्रदर्शन हुने चर्चा छ । यसैबीच कोरोना संक्रमणको बढ्दो प्रकोपका कारण सिनेमा रिलिज हुने नहुने अन्योलता बढ्दो छ ।