anmol jasita

कोरोनाका कारण थला परेको सिनेमा उद्योगको श्रीबृद्धिका लागि ‘श्री’

कोरोनाका कारण थला परेको सिनेमा उद्योगको श्रीबृद्धिका लागि ‘श्री’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भोली शुक्रबारबाट हलमा एभरेष्ट सुर्य बोहरा निर्देशित सिनेमा ‘श्री’ प्रदर्शनमा आउँदैछ । सुरुमा ओटीटीमा रिलिज गर्ने तयारीमा मात्रै रहेको निमार्ण टिम वितरक करण श्रेष्ठको पहलमा हलमा रिलिज हुँदैछ । सिनेमा रिलिजको बारेमा केहीदिन पहिले राजधानीमा आयोजित एक कार्यक्रमका वीच जानकारी दिइयो ।

नयाँ वर्षको अबसर पारेर दर्शकमाझ आउन लागेको ‘श्री’ मा सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् ।

कार्यक्रममा बोल्दै वितरक श्रेष्ठले आफूले अमेरिकामा रहेका निर्देशक बोहरालाई सम्पर्क गरि हलमै प्रदर्शन गर्ने जिम्मेवारी लिएको बताए । ‘ट्रेलर एकदमै राम्रो लाग्यो । त्यसपछि मैले निर्देशक सूर्य दाईलाई सम्पर्क गरेर सिनेमा त हलमै प्रदर्शन गर्नुपर्छ ।

त्यसको सबै चाँजोपाँचो म मिलाउछु भनेर अनुरोध गरेँ,’ करणले भने, ‘दाइ पनि आफ्नो सिनेमा हलमा आओस् भन्ने पक्षमा हुनुहुन्छ । कोरोनाका कारण थला परेको सिनेमा उद्योगको श्रीबृद्धिमा ‘श्री’ ले ठूलो योगदान गर्ने बिश्वास मैले लिएको छु ।’

‘श्री’ का प्रमुख पात्र सन्दिप क्षेत्रीले श्री आफ्ना लागि निकै महत्वपूर्ण रहेको बताए । उनले निर्देशक बोहराले आफूलाई कमेडीबाहेकको भूमिकामा समेत विश्वास गरेर अवसर दिएकोमा धन्यवाद व्यक्त गरे । ‘मैले अहिलेसम्म अभिनय गरेको सिनेमाहरुमध्ये ‘श्री’ उत्कृष्ट छ ।

मैले मेरा सन्ततीलाई तिम्रो बाबुको सिनेमा हो भनेर गर्वका साथ देखाउन सक्छु,’ उनले भने, ‘त्यस्तो विषम परिस्थितिमा पनि सूर्य दाइले आँट गरेर सिनेमा बनाउनु भयो । अहिले यस्तो अबस्थामा करणजीले प्रदर्शन गर्दैहुनुहुन्छ । यसमा मलाई निकै गर्व लागेको छ ।’

एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको सिनेमाको सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना सहित छायांकन गरिएको थियो ।

सामाजिक कथामा निर्माण गरिएको सिनेमाको निर्माता श्री पराजुली र सविता गुरुङ तथा सह निर्मातामा यम बराल, सूर्य सिम्खडा साइराम, बाल शर्मा टाइगर र सिन्धु पौडेल गौतम छन् । सिनेमामा शिवम् अधिकारको लेखन, सुदीप कुँवरको मुख्य सहयाक निर्देशन, सुजन बडालको सम्पादन र एलिस कार्कीको ब्याकराउन्ड स्कोर छ ।