‘अमेजन फायर टिभी’मा अब सिनेमाघर एप्

‘अमेजन फायर टिभी’मा अब सिनेमाघर एप्

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना भाइरसले गर्दा पछिल्लो समय डिजिटल प्लेटफर्मको लोकप्रियता बढ्दोक्रममा छ । सीमित पैसामा घरमै बसेर विश्वभरका जुनसुकै भाषाका सिनेमा हेर्न सकिने भएकाले ओभर द टप (ओटीटी) प्लेटफर्मतर्फ दर्शकको आकर्षण बढ्दो छ । डिजिटल प्लेटफर्मले निर्मातालाई समेत ठूलो राहत दिएको छ । नेपालमा पनि डिजिटल प्लेटफर्मको विकास भइरहेको छ । यसमध्ये एक हो, ‘सिनेमाघर’ एप् । यो नेपालको पहिलो ओटीटी हो ।

अभिनेता खगेन्द्र लामिछाने र सागर खरेलको समुहले सुरु गरेको एप अमेजन फायर टिभिमा समेत उपलब्ध हुने भएको छ । विश्वभर ५ करोडभन्दा बढी डिभाइस रहेको अमेजन फायर टिभीमा पनि ‘सिनेमाघर’ को एप उपलब्ध हुने भएको हो । ‘अमेजन फायर टिभी’ को जति पनि स्मार्ट डिभाइसहरु छन् त्यसमा अब ‘सिनेमाघर’ चल्नेछ । जसले गर्दा ठूलो स्क्रीनमा सिनेमा हेर्न सजिलो हुनेछ । यसबाट हाम्रो ग्राहक बढ्नेमा पनि विश्वस्त छौं’, सञ्चालक खरेलले बताए ।

भारतसँगै अमेरिका, यूरोप, अष्ट्रेलिया लगायतका देशमा निकै पपुलर रहेको अमेजनको फायर डिभाइसमा नेपालका थोरै मात्र एप्लिकेशन उपलब्ध छन् । विदेशमा बस्ने धेरै नेपालीले अमेजन टिभीको स्मार्ट डिभाइस प्रयोग गर्ने भएकाले अब ‘सिनेमाघर’ को ग्राहक बढ्ने सञ्चालक खरेलको भनाई छ । हाल यो एपमा ‘डमारुको डन्डीबियो, कोहलपुर एक्सप्रेस, सरौतो, मंगलम, बबी, ब्लाइन्ड रक्स, कथा काठमान्डू, मंगलम ’ लगायतका सिनेमा हेर्न सकिन्छ ।

यसअघि नै ‘सिनेमाघर’ एन्ड्रोइड टिभी, एन्ड्रोइड फोन तथा आइओएस सिस्टमका मोबाइल र ट्याब्लेट लगायतका स्मार्ट डिभाइसमा उपलब्ध थियो भने क्रोमकास्ट प्रविधिकको प्रयोग गरी विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिने सुविधा थियो । र अब छिटै नै अफलाइन डाउनलोडको सुविधा पनि सुरु हुने बताइएको छ ।

यो प्लेटफर्ममा ५ सय तिरेर वर्षभरी नेपाली सिनेमा, वेव सिरिज, स्ट्यान्ड अप कमेडी, सर्ट मुभिज हेर्न पाइने सुविधा छ र बिस्तारै अरु सिनेमा पनि थपिदै जाने बताइएको छ । सस्तोमा सिनेमासहित अन्य सामाग्री हेर्न पाइने भएकाले सिनेमाघर दर्शकको रोजाई बनेको छ । दिन प्रतिदिन यो एप् डाइनलोड गर्ने दर्शकको संख्या बढिरहेको सञ्चालक खरेल बताउँछन् ।