काठमाडौंमा ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ सुरु

काठमाडौंमा ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२१’ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । दुईदिने फेस्टिभल जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको हो ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनले आयोजना गरेको फेस्टिभलको यो नवौं संस्करण हो । फेस्टिभलमा नेपाल र अफ्रिकाको सिनेमा एवम् संस्कृतिको बारेमा बहस समेत हुने जनाइएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले फेस्टिभल उद्घाटन गरे । सिनेमा र सांस्कृतिजस्ता माध्यमले दुई मुलुकबीच द्धिपक्षीय सम्बन्ध थप प्रगाढ हुने ज्ञवालीले बताए । डा. मञ्जु मिश्र अध्यक्ष रहेको फेस्टिभलमा कोभिडले नेपाली र अफ्रिकी सिनेमा बजारमा पारेको प्रभावबारे पनि कार्यशालामा बहस हुनेछ ।

गत डिसेम्बरमा हुनुपर्ने यो फेस्टिभल कोभिड–१९ को प्रकोपको कारण वैशाखमा आयोजना गरिएको हो । फेस्टिभलमा नेपालबाट ७ सिनेमा चयन भएका छन् । जसमा एउटा बृत्तचित्र र बाँकी लघू चलचित्र छन् ।

नेपालबाट चयन भएका सिनेमामा निर्देशक गणेश पाण्डेको ‘को–हज्बेन्ड’, निर्देशक हिमाल उप्रेतीको ‘आमा’, निर्देशक माधवराज खरेलको ‘दुर्गामान्डु’, गणेशजँग रावलको ‘सम्साया’, सजल लोप्चनको ‘गाईड’, पुरुषोत्तम बस्नेतको ‘सुरक्षा’, निपिल शर्माको ‘द फाईनल फेयर वेल’ र युनिषराज उप्रेतीको ‘बाटोमा’ छन् ।

नेपाल र अफ्रिकाका विभिन्न मुलुकबाट प्राप्त भएका ७० वटा सिनेमा मध्येबाट महोत्सवको सिनेमा निर्णायक समूहले जम्मा १८ वटा लामा छोटा सिनेमा चयन गरेको छ । जसमा चलचित्र, लघू चलचित्र र बृत्तचित्र छन् ।

महोत्सवमा अफ्रिकी मुलुकबाट चयन भएका चलचित्रमा जिम्वावेबाट गुड म्यान, थन्डिज् डायरी, इजिप्टबाट बबल्स्, ड्राई हट समर, एक्जिट र द स्पारो किड्स छन् । निमिभिया र ब्राजिलबाट बडी गेम्स, स्विट्जरल्यान्ड र रुवान्डाबाट इम्फुरा, तान्जानियाँ र चिनबाट तजारा र सेनेगलबाट गोल्डेन फिस चयन भएका छन् ।