रामबाबु र दयाहाङको ‘कबड्डी ४’को शुभमुहूर्त

रामबाबु र दयाहाङको ‘कबड्डी ४’को शुभमुहूर्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार सिनेमा ‘कबड्डी ४ द फाइनल म्याच’को शुभमुहूर्त गरिएको छ । नक्सालस्थित भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै सिनेमाको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्त समारोहमा सिनेमाका कलाकारदेखि निर्देशक, निर्माता, छायाँकारसम्मको उपस्थिति रहेको थियो ।

निर्देशक रामबाबु गुरुङले लकडाउन नभएमा बैशाख १५ गतेबाट छायांकन सुरु गर्ने तयारी निर्माण टिमको छ । ‘कबड्डी’को अन्तिम सिरिज भनिएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको प्रमुख भूमिका रहनेछ । गौमायाले यही सिनेमाबाट अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् ।

बासुरी फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको कथा निर्देशक गुरुङले उपेन्द्र सुब्बासँग मिलेर लेखेका हुन् । असोज १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमाको निर्मातामा मणीराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार रहेका छन् । सिनेमामा निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डि कार्कीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ ।

कोरोनाको जोखिम बढ्दै गएपछि सरकारले सिनेमा हलसहित विभिन्न क्षेत्रलाई बैशाख मसान्तसम्म बन्द गरेको छ । तर, छायांकन कडाइ नगरिएकाले निर्माताहरु सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिनेमाको छायांकन गरिरहेका छन् ।