अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा ‘महानगर’ प्रिमियर हुने

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा ‘महानगर’ प्रिमियर हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मोहन राईको निर्देशनमा निर्माण भएको सिनेमा ‘महानगर’ अमेरिकाको ‘ब्रुकलिन फिल्म फेस्टिभल’मा छनोट भएको छ । भारतको कोलकाता फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको सिनेमाको अमेरिकामा समेत प्रिमियर हुन लागेको सिनेमाका क्रियटिभ निर्माता नवनिधि दाहालले बताए ।

कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको सिनेमाले एक रातको कथा भन्छ । सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य उनीहरुको जीवनमा त्यही रातले ल्याउने परिवर्तन सिनेमाको कथा हो । सिनेमामा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे लगायतका कलाकार पनि अभिनय रहेको छ ।

सिनेमालाई माउन्टेन रिभर फिल्म्स्को सहकार्यमा मिडलवे फिल्म्स्ले निर्माण गरेको हो । निर्देशक मोहन राई स्वयंको लेखन रहेको सिनेमाको कार्यकारी निर्मातामा गोविन्द पराजुली र क्रिएटिभ निर्माता नवनिधि दाहाल हुन् । सिनेमामा नरेन्द्र मैनालीको छायांकन, संगम पन्थीको संगीत र परीक्षित झाको सम्पादन रहेको छ ।

महानगरले विश्वका ९३ देशबाट सहभागिताका लागि आएका २५ सय सिनेमाबाट छानिएर फेस्टिभलमा ठाउँ बनाएको हो । ब्रुकलिन फिल्म फेस्टिभलको २४ औं संस्करण आगामी मे २८ देखि सुरु भएर जुन ६ सम्म चल्नेछ । यस फेस्टिभलमा यसअघि दुई नेपाली सिनेमा ‘सारी सोल्जर्स र अनन्त यात्रा’ पनि छनोट भएका थिए ।