सकियो निफ, ‘आमा खान्डो’ उत्कृष्ट सिनेमा

सकियो निफ, ‘आमा खान्डो’ उत्कृष्ट सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीका कारण यसपटक अनलाइनबाट आयोजना गरिएको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) सोमवारबाट सकिएको छ । महोत्सवमा सिनेमा प्रदर्शनसँगै विभिन्न विषयमा सिनेमाकर्मीबीच छलफल पनि भएको थियो ।

निफमा प्रदर्शन भएका सिनेमामध्ये उत्कृष्टलाई पुरस्कार पनि प्रदान गरिएको छ । ‘निफ’ मा स्वदेशी फिचर सिनेमातर्फ डान्डुप छिरिङ निर्देशित ‘आमा खान्डो’ उत्कृष्ट घोषित भयो भने निर्देशकतर्फको अवार्ड पनि यही सिनेमाले उचाल्यो । सिनेमाले एक लाख नगद पुरस्कार जितेको छ । त्यस्तै, ‘लाटकोसेरो’ बाट नविन शिल्पकार र सरिता गिरी उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भए ।

सिरिस गुरुङको निर्देशन तथा छायांकनमा निर्माण भएको सिनेमाले छायांकनतर्फको अवार्ड पनि जितेको हो । फिचर सिनेमातर्फकै उत्कृष्ट पटकथाको अवार्ड ‘सरिता टेल मि हु आइ एम’ बाट सर्जियो बासोले आफ्नो पोल्टामा पार्दा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ फिचर सिनेमाको अवार्ड बात्र्या बसु निर्देशित ‘डिक्स्नेरी’ ले जित्यो । यो सिनेमाले १५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।

छोटो सिनेमा तथा डकुमेन्ट्री अन्तर्गत प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय सिनेमामध्ये दक्षिण कोरियाको ‘गड्स डटर डान्सेज’ले ५ सय पुरस्कार राशीको बागमती पुरस्कार पाउँदा नेपालबाट राजेश प्रसाद खत्री निर्देशित ‘जुलुङ्गो’ उत्कृष्ट घोषित भयो । यो सिनेमाले ५ सय अमेरिकी डलर पुरस्कार पाएको छ । त्यस्तै, एनिमेटेड विधामा फिनल्यान्डको ‘उबरफ्रग’ले ७ सय ५० डलर पुरस्कार राशिको मञ्जुश्री अवार्ड पायो ।

महोत्सवमा डकुमेन्ट्र तर्फको अवार्ड भने स्वीजरल्यान्डको ‘रिटर्न टु दि लस्ट इडेन’ले जितेको छ । यो सिनेमाले १ हजार डलर राशीको माउन्ट एभरेस्ट अवार्ड प्राप्त गर्यो । यहि विधामा कोरोना महामारीको विषयमा बनेको गणेश पाण्डे निर्देशित ‘सिभिल सोल्जर्स’ उत्कृष्ट सावित भयो । उक्त सिनेमाले पनि ५ सय डलर पुरस्कार पाएको छ । बिहीबारबाट सुरु भएको निफमा विश्वभरबाट छनोट भएका ६६ सिनेमा देखाइएको थियो ।