कोरोना संक्रमणबाट वरिष्ठ निर्देशक चेतन कार्कीको निधन

कोरोना संक्रमणबाट वरिष्ठ निर्देशक चेतन कार्कीको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वरिष्ठ सिनेमा निर्देशक, गीतकार तथा उपन्यासकार चेतन कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । आइतवार काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा कार्कीको ८४ वर्षको उमेरमा निधन भएको हो ।

बैशाख १६ गते भारतको देहरादूनबाट काठमाडौं आएका कार्की ज्वरो आएपछि अस्पताल भर्ना भएका थियो । उनको आइतवार विहान १० बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । थुप्रै सिनेमाको स्क्रिप्ट र गीत लेखेका कार्कीले ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ जस्ता सफल सिनेमाको निर्देशन गरेका छन् ।

स्याङ्जामा जन्मिएका कार्कीका आत्मा बेचेको छैन, ढलेको गिलास र हनिमुन लगायतका प्रकाशित उपन्यास चर्चित छन् । कार्कीको श्रीमती र २ छोरा छन् । उनले वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहको पहिलो सिनेमा ‘परिर्वतन’ देखि कथा लेखन सुरुवात गरेका थिए ।

वरिष्ठ निर्देशक नीर शाहका अनुसार कार्कीले पोखराको मत्स्य विभागमा ६ वर्ष जागिर खाएपछि त्यहाँबाट राजीनामा दिएर नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेका थिए । उनले सिनेमा क्षेत्रले एउटा ज्यूँदो इतिहास गुमाएको बताएका छन् । कार्कीको निधनप्रति सिनेमाकर्मीले दुःख व्यक्त गरेका छन् ।