पूर्वराष्ट्रपति ओबामा ‘तेन्जिङ नोर्गे’मा अभिनय गर्ने कलाकार खोज्दै

पूर्वराष्ट्रपति ओबामा ‘तेन्जिङ नोर्गे’मा अभिनय गर्ने कलाकार खोज्दै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले नेटफिल्क्ससँग मिलेर निर्माण गर्ने बायोपिक सिनेमा ‘तेन्जिङ नोर्गे’को मुख्य पात्रको लागि कलाकारको खोजी सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ । अष्ट्रेलियाको कम्पनी डेनीलङले मुख्य कलाकारका लागि अडिसनको आह्वान गरेको हो ।

शारीरिक रुपमा स्फूर्त र खेलाडी शैलीको शारीरिक ढाँचा हुनेले सिनेमाका लागि अडिसन दिन सक्ने छन् । सिनेमाको सन् २०२२ मा नेपाल र न्यूजिल्यान्डमा छायांकन गरिने छ । २५ देखि ४० वर्ष उमेर समुहकाले तेन्जिङ पात्रका अडिसन दिन सक्ने जनाइएको छ । हिमाली लुक्सको तिब्बती शेर्पा र नेपाली हुनुपर्ने मापदण्ड तय गरिएका छन् ।

कम्पनीद्वारा जारी विज्ञप्तीमा अभिनयको अनुभव नभएकालाई पनि अभिनयको मौका दिइने उल्लेख गरिएको छ । प्रारम्भिक चरणमा तेन्जिङको लागि मात्र अडिसन आह्वान गरिएको उल्लेख छ । मुख्य पात्रका साथै अन्य कलाकार पनि छनौट गर्नुपर्ने भएकाले अडिसन केही महिनासम्म संचालन हुने बताइइएको छ ।

सगरमाथामाथि निर्माण भएको चर्चित डकुमेन्ट्री शेर्पाका निर्देशक जेनिफर पीडमले सिनेमालाई निर्देशन गर्दैछन् । तेन्जिङ नोर्गेलाई लायनका लेखक ल्युक डेभिसले लेखिरहेका छन् । सिनेमाको कथा एड् डगलसले शेर्पाको जिवनीमाथी लेखेको पुस्तकमा आधारित हुनेछ ।

सन् १९५३ मा एडमण्ड हिलारीसँग तेन्जिङ नोर्गेले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । सिनेमालाई हलिउडको हाइअर ग्राउन्ड प्रोडक्सनले पूर्वराष्ट्रपति ओबामाको निर्माण कम्पनीसँग मिलेर निर्माण गर्नेछ ।