चोरीको आरोपपछि युट्युबबाट हटाइयो ‘मन बार’

चोरीको आरोपपछि युट्युबबाट हटाइयो ‘मन बार’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमालाई बलिउड सिनेमाबाट प्रभावित हुने गरेको आरोप लागि रहेका बेला सुरक्षा पन्त र कोशिश क्षेत्री अभिनित छोटो सिनेमा ‘मन बार’ हुबहु कपि गरेको खुलेको छ । कपिको आरोप लागेसँगै निर्माण टिमले सिनेमा युट्युबबाट हटाइएको छ ।

सन २०१९ मा रिलिज भएको भारतीय छोटो सिनेमा ‘नामर्द’बाट हुबहु चोरी गरिएको आरोप लागेपछि विवादित बनेको थियो । जयेश मेस्ट्रीको कथा, संवाद र गीत रचना रहेको सिनेमाको पटकथा र निर्देशक उदय कामतले गरेका हुन् । यो सिनेमाले भारतमा दुई अवार्ड समेत जितेको थियो ।

‘नामर्द’को कथा नेपाली अनुवाद गरी रुपेन्द्र खड्गीले कथा, पटकथा र संवादमा आफ्नो नाममा राखेका छन् । यो नेपाली सिनेमालाई जीवन शाहीले निर्देशन गरेका हुन् । सिनेमा चोरी भएको चर्चा चलेसँगै अभिनेत्री सुरक्षा पन्तले मन खुम्चिएको बताएकी छन् ।

भिनेत्री पन्तले फेसबुकमा लेखेकी छन्, ‘हालसालै मैले काम गर्न पुगेको एउटा छोटो सिनेमा कुनै हिन्दी छोटो सिनेमाको हुबहु कपी रहेको कुरा थाहा पाएपछी मलाई धेरै दुख लागेको छ । पहिले जानकारी भएको भए पक्कै पनि काम गरिदैन्थ्यो होला ।

कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाही मन खुम्चिन पुग्छ । ब्यक्तिगत रुपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर बिरोधी हुँ म । त्यसैले अनविज्ञ भइ यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु । तर, फेरी यो नदोहोरिएला भन्न सकिन्न ।

इन्टरनेटको सम्पुर्ण कन्टेन्ट हेरिसकेको पनि भइदैन । सायद काम गर्नु अघि कलाकार वा अन्य टिमले कन्टेन्ट कपी हो वा होइन भन्ने प्रश्न राख्न कसरी सक्ला लेखकको सम्मानमा ठेस नपुर्याइ ? सोच्नुपर्ने कुरा हो यो । उक्त छोटो सिनेमाको पार्ट २ बनाउने कुरा उठेको र म त्यस्मा काम नगर्ने मनसायमा पुगेको छु ।

‘मन बार’ एउटा पाठ हो, केवल मैले होइन सम्पुर्ण टीमले मनन गर्न जरुरी छ । अर्को एउटा महत्वपुर्ण पाठः टिमले राम्रो काम गरेको छ भन्ने कुरा पहिले कलाकारहरुबाट थाहा हुन्छ भने टिमले काम राम्रो नगरेको कुरा पनि कलाकारबाटै थाहा हुने हो । त्यसैले कलाकारहरु एकदम इमान्दार रहन जरुरी छ ।’