‘म केही गर्छु’ शिर्षकमा लघु सिनेमा प्रतियोगिता आयोजना

‘म केही गर्छु’ शिर्षकमा लघु सिनेमा प्रतियोगिता आयोजना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘लघु सिनेमा प्रतियोगिता’ आयोजना हुने भएको छ । युवा संघ नेपालको आयोजनामा ‘म केही गर्छु’ शिर्षकमा प्रतियोगिता आयोजना हुने भएको हो । युवा संघले प्रेस विज्ञप्ति जारी गर्दै युवाहरुको नवीन सोच र श्रृजनशीलतालाई राष्ट्र निर्माणको अभियानमा जोड्ने सन्दर्भ सामाग्री निर्माणको सोचसहित प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

‘एनवाईएफ सर्ट मुभी कम्पिटिसन २०७८’ नाम दिइएको प्रतियोगितामा सहभागी हुन चाहाने सिनेमाकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको सिनेमा बनाउनुपर्नेछ ।

‘प्रतियोगितामा सहभागी हुन चाहाने सिनेमाकर्मीले ‘म केही गर्छु’ विषयको केन्द्रमा रही स्क्रिप्ट बुझाउनु पर्नेछ । यसरी सहभागिताका लागि आएका स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेछ । यो प्रक्रियाबाट बनेका सिनेमा मध्ये उत्कृष्ट तीन सिनेमालाई हामीले पुरस्कारको व्यवस्था गरेका छौँ,’ राष्ट्रिय युवा संघ अध्यक्ष किरण पौडेल हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

पौडेलका अनुसार प्रतियोगितामा सहभागी हुन चाहाने सिनेमाकर्मीले असार २५ सम्म स्क्रिप्ट पठाइ सक्नुपर्ने छ । यसरी आएका स्क्रिप्टबाट बनेकामध्ये पहिलो हुने सिनेमाले २ लाख ५० हजार, दोस्रो हुने सिनेमाले १ लाख ५० हजार र तेस्रो हुने सिनेमाले १ लाख रुपैंया पुरस्कार प्राप्त गर्ने छन् ।

त्यसैगरी प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पीनेस र प्रमोटर्स नेपालको सहयोग रहनेछ । इच्छुक सिनेमाकर्मीले संघको इमेल ठेगाना [email protected] मा आफ्नो स्क्रिप्ट पठाउनुपर्ने छ । राष्ट्रिय युवा संघ मुख्य आयोजक रहेको प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सह आयोजक र नेशनल युथ काउन्सिलले प्रवद्र्धन गर्नेछ ।