‘सिन्धु सहयोग कोष’मा सिनेमाकर्मीको ३२ लाख सहयोग

‘सिन्धु सहयोग कोष’मा सिनेमाकर्मीको ३२ लाख सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा आएको बाढि प्रभावितलाई सहयोग र पुननिर्माणको गर्न बरिष्ठ कलाकार कृष्ण मल्ल संयोजकत्वमा ‘सिन्धु सहयोग कोष’ गठन गरिएको छ ।कोषको सह-संयोजक अभिनेत्री करिष्मा मानन्धर हुन् ।

कोषको सञ्चालक कमिटीले बिहीबार काठमाडौंको बत्तीसपुतलीमा आयोजित कलाकारहरुको बृहद् भेलामा ‘सिन्धु सहयोग कोष’ स्थापनाको घोषणा गर्दै आर्थिक सहयोगका लागि अपिल गरिएको थियो । कोषका लागि पहिलो दिन नै ३२ लाखभन्दा बढी संकलन भएको छ ।

पहिलो दिन प्राप्त भएको रकमले उत्साहित भएको बताउँदै संयोजक मल्लले थप सहयोगका लागि विभिन्न व्यापारिक घरानालाई पनि आग्रह गरिने बताए । संकलन भएको उक्त रकम चाँडै बैंकमा खाता खोलेर राखिने छ । कोषका कोषाध्यक्ष जितु नेपालले सिन्धुपाल्चोकको समस्यामा सबै एकजुट हुनुपर्ने बताउँदै स्वतः स्फूर्त सहयोगको अपिल गरे ।

‘सिन्धु सहयोग कोष’मा अभिनेता तथा निर्माता भुवन के.सी, चेतन सापकोटा, गोपालकाजी कायस्थ, जनकदीप पराजुली, किरण केसी, सुभाष खड्का, सुरेन्द्र के.सी, दीपाश्री निरौला, शिवहरी नेपाल, मदनदास श्रेष्ठलगायतका सिनेमाकर्मीले आर्थिक सहयोग गरेका छन् ।