विश्वका प्रतिष्ठित अवार्डमा सहभागी सिनेमालाई ३ लाखसम्म ‘ट्राभल ग्रान्ट’

विश्वका प्रतिष्ठित अवार्डमा सहभागी सिनेमालाई ३ लाखसम्म ‘ट्राभल ग्रान्ट’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकास बोर्डले विश्वको प्रतिष्ठित ‘अस्कार अवार्ड’ जित्ने नेपाली सिनेमालाई प्रोत्साहन स्वरुप ८ लाख रुपैयाँ दिने घोषणा गरेको छ । सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको बोर्डले बिहीवार २१औं वार्षिकोत्सवको अवसरमा ‘ट्राभल ग्रान्ट’को अवधारणा लागू भएको जानकारी दिँदै अस्कारमा छनौट भए २ लाख र नोमिनेशन वा अवार्ड नै जिते ८ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै, गोल्डेन ग्लोब अवार्ड, एसिया प्यासिफिक स्क्रिन अवार्ड र एसियन सिनेमा अवार्ड समारोहमा छनौट भएर स्क्रिनिङ भए १ लाख र विजेता बने २ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म पाउनेछन् । कान्स, भेनिस, लोकार्नो, बर्लिन, टोरन्टो, सनडान्स र रोटेरडम जस्ता फेस्टिभलमा छनौट हुने ठुलो पर्दाका सिनेमाले २ लाख ५० हजार र छोटो सिनेमाले १ लाख रुपैयाँ प्राप्त गर्ने बोर्डले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

‘स्क्रिप्ट डेभलपमेन्ट वा प्रोजेक्ट मार्केट’ जस्ता विश्वका प्रतिष्ठित ल्याबमा जाने सिनेमालाई ३ लाखदेखि ५० हजारसम्म ‘ट्राभल ग्रान्ट’ उपलब्ध गराउनुका साथै सिनेमाकर्मीलाई बसोबास तथा नेटवर्किङका लागि २ लाखदेखि २५ हजार रुपैयाँसम्म प्रदान गरिने बोर्ड अध्यक्ष दयाराम दाहालले बताए । अर्थ मन्त्रालयबाट कार्यविधि पास भएसँगै ‘ट्राभल ग्रान्ट’ को अवधारणा लागू भएको विकास बोर्डले जनाएको छ ।

बोर्ड अध्यक्ष दाहालले काभ्रेको साँगामा बन्न लागेको सिनेमा स्टुडियो पनि चाँडै टेन्डरको प्रक्रियामा जान लागेको बताए । यस्तै नेपाल सरकारले आर्थिक वर्ष ७८७९ को बजेटमा स्टोरी बैंकको अवधारणलाई अगाडि बढाउने निर्णय गरेको छ । जसका लागि बोर्डले चाँडै स्क्रिप्ट आह्वान गर्ने तयारी थालेको छ । यसरी आएका स्क्रिप्टमध्ये ३ स्क्रिप्टलाई नगद सहयोग गरिने बोर्डले जनाएको छ ।