छायांकनको क्रममा घाइते भए विराज

छायांकनको क्रममा घाइते भए विराज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौ – एक्सन स्टार विराज भट्ट भोजपुरी सिनेमा ‘आक्रोश’को छायांकनको क्रममा घाइते भएका छन् । केहि दिन अगाडी भारतीय सरकारले सिनेमा छायांकनको लागि अनुमति दिएपछि उनी लखनऊ पुगेका थिए ।

‘एक्सन स्ट्रिन्ट गर्दा बायाँ खुट्टाको घुडामा समस्या आएको छ । भित्र रगत जमेको हुँदा डाक्टरले १५/२० दिन आराम गर्नु भन्नु भएको छ । अहिले सिनेमाको छायांकन रोकिएको छ’, अभिनेता भट्टले लखनऊबाट भने ।

सन्दिप सिंहले निर्देशन गरिरहेको सिनेमामा विराजसँगै प्राची सिंह, सन्जय पाण्डे, मनोज टाइगरलगायत कलाकारको अभिनय रहेको छ । ४० प्रतिशत छायांकन सकिएको सिनेमामा दिनेश यादवको एक्सन छ ।

नेपाली सिनेमामा व्यस्त रहँदा रहँदै भोजपुरी सिनेमा क्षेत्रमा प्रवेश गरेका विराज भट्ट छोटो समयमै स्टारको रुपमा उदाए । त्यसपछि उनी भोजपुरी सिनेमामा नै काम गर्न थाले । तर, उनको अभाव भने नेपाली दर्शकमा रहेन । किन भने अधिकांश भोजपुरी सिनेमा नेपालीमा डब भएर आउन थाले । तर, डब सिनेमाले भट्टको नेपाली मार्केटलाई फाइदा गरेन ।

बिचमा उनले रोज राणाको सिनेमा ‘जय परशुराम’बाट कमब्याक गरे । तर त्यो सिनेमाले भटट्लाई फाइदा भने पुर्याएन । फेरि उनी भोजपुरीमै फर्किए । उनले जादाँ जादैँ भनेका थिए, ‘म नेपाली सिनेमामा आउँछु, आफै सिनेमा निर्माण गर्छु ।’

त्यसको केहि समयपछि उनी नेपाली सिनेमामा फर्किए । उनले आफ्नै होम प्रोडक्सनबाट सिनेमा ‘साङ्लो’को निर्माण गरे । जसमा भट्टले निर्देशन र नायकको भुमिका निभाएका थिए ।

विराजको ‘साङ्लो’को पब्लिसिटी हाइप उच्च रहेको थियो । सिनेमाका पण्डितहरुले भन्ने गर्थे ‘साङ्लो’ले बक्स अफिसमा तहल्का मचाउने छ । भट्टको नामले खालिरहेको सिनेमा हलको सिट दुई दिन हाउसफुल गराइदियो । समग्रमा सिनेमाले औसत व्यापार गर्यो ।

कोरोना महामारीका कारण लकडाउन भएपछि उनी भोजपुरी सिनेमा क्षेत्रमा फर्किएका थिए । कोरोना महामारीमै उनले भोजपुरी सिनेमा ‘क्रोध’ र ‘दिया बात्ती’को छायांकन सकेका छन् ।