anmol jasita

सिनेमा क्षेत्र चलायमान बनाउन सबैको समर्थन चाहिन्छ : अनमोल केसी

सिनेमा क्षेत्र चलायमान बनाउन सबैको समर्थन चाहिन्छ : अनमोल केसी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसी लामो समयपछि मिडियामा देखिएका छन् । कोरोना महामारीका कारण करिब २ वर्ष देखि नेपाली सिनेमा क्षेत्र ठप्प भएको छ । त्यो सँगै अनमोल पनि मिडियामा कमै देखिए ।

उनी सिनेमामा र विज्ञापनमा मात्रै अभिनय गर्छन् । अन्य कलाकार जस्तो उनलाई भेट्न त्यति सहज छैन । सिनेमाको काम नभएपछि उनी खासै बाहिर निस्कदैनन् । त्यसमाथी उनी आगामी सिनेमा ‘एक्स नाइन’को तयारीमा छन् । उनी यो सिनेमाको लागि २० केजी तौल बढाउँदैछन् । अनमोलका अनुसार उनी ७ केजी मोटाइसकेका छन् भने १३ केजी तौल अझै बढाउन बाँकी छ ।

शनिबार अनमोल आफ्नो बुबा भुवन केसीको जन्मदिन मनाउन याक एन्ड यति होटलमा पुगेका थिए । जहाँ भुवन केसी आफ्नो एक म्यूजिक भिडियोको छायांकन गरिरहेका थिए । अनमोलले होटलमै पुगेर आफ्नो बुबा भुवनलाई जन्मदिनको शुभकामना दिए ।

डेढ वर्ष देखि मिडियाबाट टाढिएका अनमोलले लकडाउनमा दर्शक र मिडिया मिस गरेको बताउँदै भने, ‘मैले मिडिया, लाइमलाइटमा आउन, सुटिङको माहोल, दर्शकसँगको भेटघाट मिस गरे । धेरै चिज मिस गरे ।’

मल्टिस्टारर सिनेमामा देखिन लागेका अनमोलले भने, ‘मलाई कहिले पनि म सोलो अभिनेताको रुपमा हुनुपर्छ भन्ने लाग्दैन । ‘गाजलु’ पनि मल्टिस्टारर नै थियो । कोभिडपछिको सिनेमा क्षेत्रलाई उठाउनका लागि सबै कलाकार मिलेर काम गर्दा नयाँ केही आउँछ कि भनेर मैले यो क्षेत्रमा काम गरेको हुँ । साथै, सिनियर दाइहरुबाट पनि केही सिक्नेछु भन्ने अपेक्षा छ ।’

उनले राम्रो सिनेमा लागे दर्शक हलसम्म आउने बताए । ‘सिनेमा क्षेत्र चलायमान बनाउन सबैको समर्थन चाहिन्छ । दर्शकको साथ चाहिन्छ । राम्रो सिनेमा आयो भने दर्शक हलसम्म आउनुहुन्छ’ उनले भने ।