निर्देशक तीर्थ थापाको काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

निर्देशक तीर्थ थापाको काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा निर्देशक तथा नेपाल संस्कृति संघका अध्यक्ष तीर्थ थापाले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघका केन्द्रीय सभापति समेत रहेका थापाले आफ्नो हकहितका लागि कलाकर्मीले अब राजनीतिमा आउनुपर्ने देखिएकोले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए ।

‘हामी कलाकर्मीले राजनीति गर्नु हुँदैन, हाम्रा हक-अधिकारका लागि बोल्नु हुँदैन, हामी राष्ट्रका गहना हौं भन्दा भन्दै आज जुग वितेको छ,’ थापाले भने, ‘राज्य र राजनीतिक दलले हामीलाई प्रयोग मात्र गरेको कारण आफ्नो हकहधिकारको लागि राजनीतिमा सक्रिय हुन परेको छ ।’

कलाकर्मीबारे सुन्दा र हेर्दा जति राम्रो देखिएपनि ५० वर्ष कला क्षेत्रभित्रका व्यथा र कठिनाइ वास्तवमै दर्दनाक हेरेको उनको भनाइ छ । थापाले सांस्कृतिककर्मी, कवि, कलाकार, नृत्यकार, चित्रकार, संगीतकर्मी, गायक, लेखक लगायतलाई राज्यले दोस्रो दर्जाको नागरिकको रुपमा अवमूल्यन गरेको आरोप लगाए । उनीहरुलाई राज्यको प्रथम नागरिक सरह सांसदमा समेत उपस्थिति गराउन, सम्मान, सुरक्षा र पहिचान प्रदान गर्न काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए ।

बिगत १५ देखि साँंस्कृति संघको सभापति भएर बसे पनि पार्टीले आफू र संघका साथीहरुलाई उचित स्थान दिन नसकेको गुनासो थापाले पोखे । ‘पार्टीभित्र मात्र होइन, राज्यका कुनै तह–तप्कामा समेत हाम्रो प्रतिनिधित्व हुन सकेको छैन,’ थापाले अगाडि थपे, ‘हाम्रो नाममा राजनीतिक दलले धेरै फाइदा लुटेका छन् । सबैलाई सचेत गरेर हकहितका लागि लड्न समेत काँंग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी हो ।’ निर्देशक थापालाई साथ र समर्थन गर्नका नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, अभिनेता कृष्ण मल्ल, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायत थुप्रै कलासँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

उपस्थित अधिकांश कलाकर्मीले थापाको नेपाली काँग्रेसको केन्द्रीय सदस्य उम्मेदवारी सम्पुर्ण कलाक्षेत्रको प्रतिनिधित्वको रुपमा चर्चा गरेका थिए । तीर्थ थापा नेपाली सिनेमाका पुराना निर्देशक हुन् । रंगमञ्चको नाटक अभिनय गर्दै सिनेमा निर्देशक बनेका थापाले ‘अन्जुली’, ‘आन्दोलन’ लगायतका आधा दर्जन सिनेमाको निर्देशन गरेका छन् ।