भुटानी शणनार्थीको कथामा ‘रबर सिटी’ बनाउँदै विनोद पौडेल

भुटानी शणनार्थीको कथामा ‘रबर सिटी’ बनाउँदै विनोद पौडेल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक विनोद पौडेलले ‘बुलबुल’ पछि दोस्रो सिनेमाको निर्माण घोषणा गरेका छन् । उनले दोस्रो सिनेमाको नाम ‘रबर सिटी’ जुराएका छन् । बुधबार उनले पोस्टर जारी गर्दै प्रारम्भिक जानकारी दिएका हुन् । अमेरिकामा छायांकन हुने सिनेमामा अहिलेसम्म कलाकारको रुपमा विक्रमकुमार शर्मा र राधा लम्साल तय छन् ।

उनीहरु बाहेक विनोदकै लेखन रहेको सिनेमा ‘साँघुरो’ फेम्ड अभिनेता सुशांक मैनाली सिनेमामा मुख्य अभिनेताको रुपमा अनुबन्धित भएका छन् । बाँकी कलाकार टुंगो लाग्न बाँकी रहेको निर्माता अबिरल थापाले बताए । सिनेमालाई अंकित पौडेलले छायांकन गर्नेछन् ।

निर्देशक विनोद पौडेलले ‘एक्रोन इन्टरनेसनल’को रुपमा सिनेमाको काम सुरु गरेका थिए । एक्रोनलाई अमेरिकनले रबर सिटीको रुपमा पनि बोलाउने गरेका छन् । निर्देशक पौडेलले सिनेमाका चरित्रको आयातन र सहरको पुरानो चिनारी मिल्दोजुल्दो भएकाले सिनेमाको नाम ‘रबर सिटी’ जुराएको बताए । नेपालबाट आएका भुटनिज शरणार्थीले यो सहरलाई नयाँ जीवन दिएको अमेरिकनबाटै सुनेँ’ पौडेलले भने, ‘मेरो सिनेमाको कथा पनि भुटनिजमा आधारित रहेकाले ‘रबर सिटी’ नाम उपयुक्त लाग्यो ।’

निर्माता अबिरल थापाले आउँदो वर्षको मार्चमा सिनेमाको छायांकन गर्ने गरी तयारी भइरहेको जानकारी गराएका छन् । यसको बाँकी तयारीका लागि अबिरल आफैँ फ्रेब्रुअरीमा अमेरिका प्रस्थान गर्नेछन् । सिनेमामा अबिरलबाहेक किर्तना बाँस्कोटा, यतिन परखानी, भक्त रिजाल र राजु पौडेल निर्माताको रुपमा रहनेछन् ।

सिनेमा अवेकन प्रडक्सन र बाँस्कोटा प्रडक्सनले संयुक्त रुपमा निर्माण गर्नेछन् । सिनेमाको पटकथा विनोद स्वयंले लेखेका हुन् । फिल्मको अनुमानित बजेट साढे ६ करोड हाराहारी हुने निर्माण टिमको बुझाई छ ।