शो बाँडफाँडमा अन्याय गरेको भन्दै ‘राधा’को प्रदर्शन रोकियो

शो बाँडफाँडमा अन्याय गरेको भन्दै ‘राधा’को प्रदर्शन रोकियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मल्टिप्लेक्सको शो बाँडफाँडमा अन्याय गरेको भन्दै सिनेमा ‘राधा’को प्रदर्शनमा रोक लगाइएको छ ।

मंगलबार राजधानीमा आकस्मिक प्रेसमिट आयोजना गर्दै निर्माण पक्षले सिनेमाको प्रदर्शन रोक्ने निर्णय गरेको हो । सिनेमा लेखक तथा निर्देशक सुवर्ण थापा प्रेसमिटमा आक्रामक सुनिए । उनले अन्य सिनेमा र आफ्नो सिनेमालाई हलवालाले गरेको व्यवहार मान्य नहुने बताए ।

‘राधा पाँच दिन अगाडी रिलिज भएको हो । पहिलो दिन हामीले अलनेपाल ४५ शो पाएका थियौँ । त्यो हाम्रो लागि खुसिको कुरा थियो । दोस्रो दिन शनिबार ५ शो काटियो । हामीलाई विहान र दिउँसोको शो दिइएको थियो । बेलुका ५ बजेपछिको प्राइम टाइममा कुनै शो थिएन । त्यैपनि सहेर बस्यौँ । तीजसम्म हामीले अपेक्षा राखेका थियौँ । तर आज तीजको दिन हामि अलनेपाल १५ शोमा खुम्चिएका छौँ । मल्टिप्लेक्स लक्षित भनिएको हाम्रो सिनेमालाई क्युएफएक्सले जम्मा ३ शो दिएको छ ।’ निर्देशक थापाले आक्रोशित भावमा बोले ।

‘हलवालाले जुन तरिकाले अन्य सिनेमाको तुलनामा हामीलाई व्यवहार गरेका छन् । त्यो हाम्रो टिमलाई मान्य छैन । वितरकसंगको सल्लाह बमोजिम यस्तो अवस्थामा हामीले ‘राधा’लाई अगाडी बढाउन सक्दैनौँ । केहि समयको लागि सिनेमाको प्रदर्शन रोक्ने निर्णय गरेका छौँ । प्रदर्शनको अर्को बाटो खोजेर रिलिज गर्ने योजना बनाउदै छौँ ।’ थापाले भने ।

वेपत्ता पतिको खोजिमा रहेकी गर्भवती महिलाको कथा भन्ने सिनेमामा सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, दयाहाङ राई, सौगात मल्ल, निश्चल बस्नेतलगायतको अभिनय छ ।