द सिनेमा टाइम्स, काठमाडौं। कञ्चन संग्रौलाको लेखन तथा निर्देशनमा बनेको नाटक ‘फर्स्ट ड्राफ्ट’ ओस्कार इन्टरनेसनल कलेज (साधना घर) मा मञ्चन भइरहेको छ। साउन २० गतेसम्म मञ्चन हुने नाटकमा नाट्यकर्मी कञ्चन संग्रौला र अभय बराल मुख्य भूमिकामा छन्।
नाटकमा अभिनयप्रति समर्पित एक युवती मीरा केन्द्रीय भूमिकामा देखिने छिन् जसले आफ्नो पहिलो कथा लेख्ने प्रयास गरिरहेकी हुन्छिन्। अनगिन्ती विचार, असंख्य प्रश्न र आत्मद्वन्द्वबीच उनी आफ्नो कथालाई आकार दिन खोज्छिन्। तर कल्पना र यथार्थको सीमारेखा विस्तारै धमिलो बन्दै जाँदा, उनले सिर्जना गरेको पात्र हिरा अचानक उनको सामु उपस्थित हुन्छ।
निर्देशक तथा लेखक संग्रौलाका अनुसार यो सिर्जनात्मक प्रक्रियाभित्र लुकेका द्वन्द्व, अस्तित्वको खोजी र कलाकारको आन्तरिक संघर्षलाई चित्रण गरेको नाटक हो। यसले हास्य, व्यङ्ग्य, मौनता, खेल, संगीत र रंगमञ्चीय प्रयोगमार्फत कलाकारको सिर्जनात्मक असुरक्षा, आत्मसंघर्ष, पहिचानको खोजी तथा अपूर्णताको सौन्दर्यलाई उजागर गर्छ।
ट्रिओ आर्ट्ससँगको सहकार्यमा प्रस्तुत नाटकका निर्माता पशुपति राई र नवीन न्यौपाने हुन् भने कार्यकारी निर्माता जानकी कडायत रहेकी छन्। बिहीबारबाहेक हरेक दिन बेलुका ५ः१५ मा मञ्चन हुनेछ। बुधबार र शनिबार दुई शो मञ्चन हुनेछ।


प्रतिक्रिया