द सिनेमा टाइम्स, काठमाडौँ। आज हुने भनिएको सिनेमा ‘पार्वती’ को टिजर सार्वजनिक कार्यक्रम स्थगित भएको छ। सिनेमाकी निर्देशक तथा अभिनेत्री नीता ढुंगानाले फेसबुकमार्फत् एक विज्ञप्ति जारी गर्दै आजको कार्यक्रम स्थगित गरिएको जानकारी दिएकी हुन्।
सिनेमाका बाल कलाकार अशोक दर्जीसँग सम्बन्धित व्यक्तिगत कारणले उत्पन्न भएको परिस्थितिलाई मध्यनजर गर्दै आजको टिजर सार्वजनिक कार्यक्रम स्थगित गरिएको बताइएकाे छ। विज्ञप्तिमामा भनिएको छ, ‘हाल हाम्रो सिनेमाका बाल कलाकार अशोक दर्जीसँग सम्बन्धित केही व्यक्तिगत कारणवश उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै, यस संवेदनशील समयमा सिनेकाको प्रचार/प्रसारसम्बन्धी कुनै पनि सामग्री सार्वजनिक नगर्ने निर्णय गर्न हामी बाध्य भएका छौं।’
निर्माण कम्पनी नीता फिल्म्स प्रोडक्सन प्रा.लि.ले अशोक दर्जीप्रति आफ्नो साथ र सद्भाव रहेको उल्लेख गर्दै कठिन परिस्थितिबाट उनी चाँडै बाहिर आउने विश्वास व्यक्त गरेको छ। ‘यस कठिन समयमा अशोक दर्जीलाई तपाईंहरूको माया, साथ, सद्भाव र शुभेच्छाको आवश्यकता रहेको हामी विश्वास गर्दछौं,’ उहाँले छिट्टै नै यस परिस्थितिबाट बाहिर निस्केर नयाँ ऊर्जा र उत्साहका साथ अघि बढ्नुहुनेछ भन्ने हाम्रो पूर्ण आशा छ,’विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा ‘पार्वती’ को टिजर सार्वजनिक गर्ने नयाँ मिति केही समयपछि घोषणा गरिने बताइएको छ। साथै दर्शक, शुभचिन्तक र सञ्चारमाध्यमप्रति निरन्तर साथ, सहयोग र समझदारीका लागि आभार व्यक्त गरिएको छ।
बाल कलाकार अशोक दर्जी पछिल्लो समय कुटपिटको घटनापछि चर्चामा छन्। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनीमाथि केही व्यक्तिले हातपात गरेको देखिएको थियो। घटनापछि उनले सम्बन्धित व्यक्तिविरुद्ध प्रहरीमा उजुरी दिएका छन् र सो घटनाको अनुसन्धान भइरहेको छ। यही संवेदनशील अवस्थालाई मध्यनजर गर्दै निर्माण पक्षले ‘पार्वती’को टिजर सार्वजनिक कार्यक्रम स्थगित गरेको हो।
नीता फिल्म्स प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा निर्देशक नीता स्वयं मुख्य भूमिकामा छिन्। उनकै कथामा बनेको सिनेमामा नीता र अशोकका साथै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायतका कलाकारहरूले अभिनय गरेका छन्।
शिवम् अधिकारीले पटकथा बनेको सिनेमा सुदीप बरालको छायांकन र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ। सिनेमाका निर्माता हरिहर अधिकारी हुन् भने कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे छन्। यसअघि नीताले फिल्म ‘ह्रस्वदीर्घ’ निर्माण गरेकी थिइन्।


प्रतिक्रिया