द सिनेमा टाइम्स, काठमाडौं। दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनीत बहुप्रतीक्षित सिनेमा ‘स्पिरिट’सँग आगामी फागुन २१ गते नेपाली सिनेमा ‘रत्यौली’ र ‘शुभ विवाह’को सम्भावित भिडन्त हुने देखिएको छ। एउटै मितिमा तीन सिनेमा प्रदर्शनमा आउने भएपछि नेपाली सिनेमा क्षेत्रमा सम्भावित भिडन्तको चर्चा सुरु भएको छ।
‘स्पिरिट’ अन्तर्राष्ट्रिय स्तरमै प्रतीक्षित फिल्म हो। सिनेमा निर्देशक सन्दीप रेड्डी वाङ्गाले निर्देशन गरेका हुन्। एक्सन, क्राइम र ड्रामा जनराको सिनेमामा प्रभासको स्टारडम मुख्य आकर्षण बनेको छ। ठूलो बजेट र विश्वव्यापी दर्शकका कारण नेपाली बजारमा पनि यसको प्रभाव रहने अनुमान गरिएको छ।
विशेषगरी पछिल्लो केही वर्ष यता नेपालका हलमा दक्षिण भारतीय कलाकार र निर्देशकको प्रभाव उच्च देखिन्छ । हलले पनि नेपाली सिनेमाको तुलनामा तिनै सिनेमालाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन् । जसले गर्दा नेपाली सिनेमाले सा वितरणदेखि व्यापारमा ठूलो चोट सहँदै आएका छन् । त्यसैले ‘स्पिरिट’ घोषित मितिमै प्रदर्शन भएको खण्डमा यी दुई सिनेमाको रिलिजमा प्रभाव पर्ने हल सञ्चालक तथा सिनेमा वितरक बताउँछन् ।
यता नेपाली सिनेमा ‘रत्यौली’ र ‘शुभ विवाह’ले भने सामाजिक कथा र घरेलु दर्शकको भरोसामा ‘स्पिरिट’ सँग प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् तर, के यी दुई नेपाली सिनेमाले प्रभासको स्टार पावरलाई चुनौती दिन सक्लान् त ? अहिले सिने वृत्तमा यही चर्चाको विषय बनेको छ।
अभिनेत्री पूजा शर्मा र अभिनेता विजय बरालको मुख्य भूमिका रहेको ‘रत्यौली’ उनीहरूको पहिलो सहकार्य हो। यसकारण पनि दर्शकमाझ चासो छ। मुस्कान ढकालको निर्देशनमा निर्माण हुने सिनेमा सुरज आचार्यले लगानी गरेका छन्।
त्यस्तै, सुदर्शन थापाको निर्देशनमा बन्न लागेको ‘शुभ विवाह’मा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा छन्। प्रदीप र सुदर्शनको ‘प्रेम गीत’ पछिको दोस्रो सहकार्य भएकाले यो सिनेमाप्रति पनि दर्शकको अपेक्षा उच्च छ।
रोचक पक्ष के छ भने, ‘रत्यौली’की अभिनेत्री पूजा शर्मा र ‘शुभ विवाह’का निर्देशक सुदर्शन थापा कुनै समय एउटै टिममा रहेर काम गर्थे। ‘रावायण’को निर्माण र व्यवस्थापनका विषयमा मतभेद भएपछि उनीहरू अलग-अलग सिनेमामा सक्रिय छन्। यही कारण पनि एउटै मितिमा रिलिज हुने यी दुई सिनेमालाई धेरैले प्रतिस्पर्धाका रूपमा हेरिरहेका छन्।
तर, एउटै मितिमा तीन ठूला फिल्म आउने भनिए पनि अन्तिम समयमा रिलिज तालिका परिवर्तन हुने सम्भावना भने नकार्न सकिँदैन। तथापि दुवै नेपाली सिनेमाकाे छायांकन सुरू भएकाे छैन् तर दुवैले प्रदर्शन मिति भने ताेकिसकेका छन्। त्यसैले फागुन २१ गते ‘स्पिरिट’सँगै ‘रत्यौली’ र ‘शुभ विवाह’ हलमा आउँछन् वा कुनैले प्रदर्शन मिति सार्छन्, त्यो भने समयले नै देखाउनेछ।


प्रतिक्रिया