‘ऐना झ्यालको पुतली’को बाल्यकाल सम्झाउने गीत रिलिज

‘ऐना झ्यालको पुतली’को बाल्यकाल सम्झाउने गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भदौ २४ देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको सिनेमा ‘ऐना झ्यालको पुतली’को गीत रिलिज गरिएको छ ।

रामबाबु सुवेदीको शब्द रचना रहेको बाल गीत ‘मेरो गाउँ ज्यामिरे’मा रामेश श्रेष्ठको संगीत छ । गीतमा टेम्दो छिरिङ, अङ्गमु लामा र स्वर्णिम स्कुलका विद्यार्थीले स्वर दिएका छन् ।

सार्वजनिक गीतको भिडियोले बाल्यकाल याद ताजा बनाउछ ।

रामबाबु सुवेदीका अनुसार यो गीत उनले २०४० सालमा रचना गरेका थिए । २०४२ सालमा रामेश श्रेष्ठले यसको संगीत गरेका थिए । रेडियो नेपाल तथा एफएममा बज्दै आएको यही बाल गीतलाई निर्माण टिमले सिनेमाको ओर्जिनल साउन्ड ट्रयाक(ओएसटी)को रुपमा सार्वजनिक गरेको हो ।

रचनाकार रामबाबु सुवेदीले आफूले गीतमा कल्पना गरे जस्तै सिनेमाको कथा पनि दुरुस्त रहेकाले गीत प्रयोगका लागि अनुमति दिएको बताए ।

‘मैले सिनेमा पनि हेरेँ । गाउँले परिवेश र शिक्षाको महत्वको विषयमा असाध्यै राम्रो राम्रो सिनेमा बनेको रहेछ । मैले त ज्यादा भन्दा ज्यादा केटाकेटीले गीत सुनुन् भनेर बनाएको हो । अब सिनेमामा आएपछि त्यो झन् धेरै साना नानीबीच पुग्छ,’ उनले भने, ‘यो गीतले पनि शिक्षाको कुरा गर्छ र सिनेमाले पनि । हाम्रो उद्देश्य पनि मिल्यो ।’

सिनेमाका लेखक तथा निर्देशक सुजित बिडारीले यो गीत आफुले क्याम्पस पढ्दा सुनेको भएपनि गीतले नोस्टाल्जिक बनाएकाले सिनेमामा प्रयोग गरिएको बताए ।

कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटीलगायतले अभिनय गरेको सिनेमाले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा पेस गर्छ जुन परिवार अर्थ अभावका कारण छोरीलाई माध्यमिक शिक्षा दिन पनि संघर्ष गर्छ ।

सिनेमालाई आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र सुजित बिडारी मिलेर निर्माण गरेका हुन् ।

यो सिनेमा बुसान, ढाका, फ्रिबर्ग लगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट तथा पुरस्कृत भैसकेको छ ।