‘झिँगेदाउ’को समवेदना र भावना समसामयिक छ – केकी अधिकारी

‘झिँगेदाउ’को समवेदना र भावना समसामयिक छ – केकी अधिकारी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री केकी अधिकारीले आफु अभिनित सिनेमा ‘झिँगेदाउ’को कथा समसामयिक रहेको प्रष्ट पारेकी छन् ।

सिनेमा प्रचारको क्रममा ‘झिँगेदाउ’को सेटिङ र कथा पुरानो भएपनि यसको समवेदनाले दर्शकलाई बाँध्न सक्ने दावी गरिन् । ‘हाम्रो कथा एउटा कृतिबाट लिइएको भएपनि यसले अहिलेको समाजसंग साक्षात्कार गर्छ । समय अनुसार पारिवारिक संरचना परिवर्तन भयो होला । झगडाको माध्यम परिवर्तन भयो होला । तर हाम्रो भावना र समवेदना परिवर्तन भएको छैन । हाम्रो मानवीय समवेदना र भावना परिवर्तन हुन् सयौँ वर्ष लाग्छ ।’ केकीले भनिन् ।

पछिल्लो समय दर्शकले नेपाली सिनेमामा मिस गरिरहेको मनोरंजन डोज ‘झिँगेदाउ’मा प्राप्त गर्ने केकी बताउछिन । ‘नेपाली सिनेमामा अहिले दर्शकहरुले मनोरंजन छैन भन्ने खालको प्रतिक्रिया दिनु भएको छ । त्यो कुरालाई यो सिनेमाले पुरा गर्छ । यसलाई फिल्मी तरिकाबाट प्रस्तुत गरिएको छ । यो कुनै यथार्थपरक डकुमेन्ट्री जस्तो छैन । पुरै ड्रामा, स्क्रिनप्लेले भरिएको र मसालेदार बनेको छ । यो पूर्णत मनोरन्जनात्मक छ ।’ उनले भनिन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सिनेमा भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित छ । प्रदीप भारद्वाजको लेखन रहेको सिनेमामा केकीसंगै आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको मुख्य भूमिका छ । कुशलको यो डेब्यु सिनेमासमेत हो ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्मित हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ । भदौ १७ देखि प्रदर्शनमा आउने सिनेमाले दुई दाजुभाई र देउरानी-जेठानीको पारिवारिक झमेलाको कथा भन्छ । निर्देशक देउजाले यसलाइ सपरिवार हेर्न मिल्ने सिनेमा भनेका छन् ।

सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।

तस्विर: ज्ञानु राई