हेलिकप्टरबाट चक्कर काट्दै ‘सम्हालिन्छ कहिले मन’को प्रचार

हेलिकप्टरबाट चक्कर काट्दै ‘सम्हालिन्छ कहिले मन’को प्रचार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आउने सिनेमा ‘सम्हालिन्छ कहिले मन’को हेलिकप्टरमा पोस्टर टाँसेर प्रचार गरिएको छ ।

बिहिबार कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनलाई बोकेर बौधबाट उडेको हेलिकप्टर पशुपतिहुँदै चोभारमा पुगेर ल्याण्ड भयो । सयपत्री फुल खसाउदै उडेको हेलिकप्टरबाट पूजा, आकाश र सोनमले हरियो मैदानमा इन्ट्री मारे ।

हेलिकप्टरको दृश्य खिच्न मिडियाको राम्रो उपस्थिति थियो ।

ल्याण्डपछि मिडियासंग कुरा गर्दै पूजाले भगवानलाई पुज्न हेलिकप्टरमा चक्कर काटेको बताइन । ‘हाम्रो आस्था भगवान हुनुहुन्छ । भोलिदेखि सिनेमा रिलिज हुँदैछ । रिलिज अगाडी भगवानसंग वरदान माग्यौं । बौध र पशुपतिलाई फन्को लगाउदै नेपाली सिनेमा छायांकनको पवित्र स्थलमा पुगेर प्रेसमिट आयोजना गरेका हौँ ।’ पूजाले राम्रो व्यापारको आशा राख्दै भनिन् ।

अभिनेता श्रेष्ठले भगवानको आशिर्वाद पाइन्छ कि भनेर नयाँ तरिकाको प्रचार गरेको बताए । ‘नयाँ तरिकाको प्रचार गर्न पाउदा रमाइलो अनुभव भयो । कुनै कामको सुरुवात गर्नु भन्दा अगाडी भगवानलाई सम्झिदा आशिर्वाद मिल्छ भन्ने आशा हो ।’ आकाशले भने ।

डेब्यु अभिनेता सोनमले प्रचारमा खुसि मिलेर र सिनेमाको आक्रामक बुकिङले उत्साहित बनेको बताए ।

सुदर्शन थापाले निर्देशन गरेको सिनेमा भदौ १७ देखि प्रदर्शनमा आउदैछ । त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमामा पूजा, आकाश र सोनमसंगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतको अभिनय छ ।

निर्माण पक्षले शुक्रबार सिनेमाको स्पेशल शो आयोजना गर्दैछ । निर्देशक थापाले यो सिनेमालाई अहिलेसम्म कै उत्कृष्ट मेकिङ भन्दै आइरहेका छन् । सिनेमाले पूर्णत मनोरंजन प्रदान गर्ने निर्देशक थापाले बताएका छन् ।

बुकिङ खुल्ला भएसंगै केहि शोज हाउसफुल भएका छन् । सिनेमाको बुकिङ ट्रेन्ड राम्रो देखिएको छ ।

सिनेमाको ९० प्रतिशत छायांकन युकेमा भएको हो । संजय लामाले खिचेको सिनेमामा अर्जुन पोखरेल/ताराप्रकाश लिम्बु/जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ ।

एबी इन्टरनेशनलको प्रस्तुति रहेको सिनेमामा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी छ ।

तस्विर: नविन कार्की