‘झिँगेदाउ र सम्हालिन्छ कहिले मन’को हाउसफुल सुरुवात

‘झिँगेदाउ र सम्हालिन्छ कहिले मन’को हाउसफुल सुरुवात

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रवारबाट प्रदर्शनमा आएका दुई सिनेमा ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ले पनि बक्सअफिसमा सुखद् सुरुवात गरेका छन् । शुक्रवार ६०/६५ प्रतिशतको आसपास अकुपेन्सी कायम गरेका दुवै सिनेमाले शनिवार भने ८०/९० प्रतिशत अकुपेन्सी रहेको हल सञ्चालक र वितरकले बताएका छन् ।

नेपालको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा शनिवारका लागि दुवै सिनेमाले जति शो पाएका थिए, त्यसमा दर्शकको अभाव रहेन । क्यूएफएक्सको लबिम, छायाँ सेन्टर, सिभिल मलमा दुवै सिनेमा दिउँसभर हाउसफुल थिए । बिग मुभिज, एफक्यूब, विएसआर, वान सिनेमाज् लगायतमा पनि दर्शकको उपस्थिति राम्रो थियो । मोफसलका मल्टीप्लेक्समा पनि अवस्था सुखद् रह्यो ।

सिंगलतर्फ पनि शनिवार देशभर दुवै सिनेमा हेर्ने दर्शक उच्च थिए । बालाजुको अष्टनारायण हलमा ‘सम्हालिन्छ कहिले मन’का कलाकर पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन पुग्दा दर्शकको ठूलो भीड देखिएको थियो ।

अष्टनारायणमा सिनेमाको शनिवारको व्यापार ‘कबड्डी ४’पछिकै उच्च रहेको हल सञ्चालक सोहित मानन्धरले बताए । अष्टनारायणमा ‘झिँगेदाउ’ले पनि राम्रो व्यापार गरेको उनले बताएका छन् । दुवै सिनेमाको कथावस्तु र कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् ।

‘झिँगेदाउ’लाई दर्शकबाट मिलेको प्रतिक्रियाले अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्मा खुसी देखिएका छन् । केकी भन्छिन्, ‘दर्शकबाट जुन माया पाएका छौं, त्यसबाट एकदमै उत्साहित छौं । हरेक दृश्यमा हामीले सोचेकै ठाउँमा दर्शकले सेलेट गर्नुभएको छ । हाम्रो लागि यही ठूलो जित हो ।’

अब ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’को भविष्य आइतवारदेखिको दर्शक उपस्थितिले निर्धारण गर्नेछ । शुक्रवार र शनिवार दुवै सिनेमालाई कलाकारको स्टारडम, गीत-संगीत र ट्रेलरले दिलाएको हाइपले फाइदा मिलेको हो । अब सिनेमाको कन्टेन्ट (कथा) हिरो बन्नु पर्छ । दुवै सिनेमाको टिम वर्ड अफ माउथ बलियो भएकाले आइतवारबाट पनि दर्शकको साथ राम्रो मिल्नेमा विश्वस्त छ ।

ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथा भनेको छ । ३०/४० वर्ष अगाडिको नेपाली समाजको कथामा सिनेमा आधारित छ । त्यस्तै, सुदर्शन थापाको निर्देशनमा बनेको ‘सम्हालिन्छ कहिले मन’ले त्रिकोणात्मक प्रेमकथा बोलेको छ । सिनेमामा गीत-संगीत र छायांकन पक्ष सानदार छ । यही सिनेमाबाट डेव्यु गरेका सोनम तोप्देनले अभिनयमा राम्रो सम्भावना देखाएका छन् ।