दुई भारतीय सिनेमाको कारण ‘ऐना झ्यालको पुतली’को खुलेन शो

दुई भारतीय सिनेमाको कारण ‘ऐना झ्यालको पुतली’को खुलेन शो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – जब नेपाली बक्सअफिसमा विदेशका ठुला सिनेमा रिलिज हुन्छन । तब नेपाली सिनेमाले मल्टिप्लेक्समा शो पाउन फलामको चिउरा चपाउनु सरह हुन्छ ।

उदाहरण हेर्न धेरै टाढा जानु नै पर्दैन । भदौ १० मा रिलिज भएका ‘प्रकाश’ र ‘राधा’ले शो प्राप्तिका लागि गर्नु परेको संघर्ष हेरे पुग्छ । त्यतिबेला ‘प्रकाश’ टिमले सम्मानजनक शो पाउनका निमित्त आक्रोश नै व्यक्त गर्नु पर्यो । ‘राधा’ टिमले कम शो दिएर सौतेनी व्यवहार गरेको भन्दै प्रदर्शन नै रोकेको थियो ।

यसै बीच भदौ २४ अर्थात् भोलिदेखि प्रदर्शनमा आउन लागेका सिनेमा ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा’ प्रदर्शन अगावै विदेशी सिनेमाको चपेटामा परेका छन् ।

बलिउड सिनेमा ‘ब्रमास्त्र’ सेन्सर नहुँदा त्यसको प्रत्यक्ष असर सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’लाई परेको छ ।

थुप्रै अन्तरराष्ट्रिय सिनेमा महोत्सवमा वाहवाही कमाएको ‘ऐना झ्यालको पुतली’ले रिलिजको एक दिन अगाडीसम्म शो प्राप्त गर्न सकेको छैन ।

चलचित्र बिकास बोर्डले विदेशी सिनेमालाई सेन्सर नगरिकन बुकिङ कोड नदिने निर्णय गरेपछि यसको मारमा नेपाली सिनेमा परेका छन् । मल्टिप्लेक्सले ‘ब्रमास्त्र’ अगाडी नेपाली सिनेमालाई शोज दिन मानिरहेका छैनन् ।

यसबाट नेपाली मल्टिप्लेक्सहरुले नेपाली भन्दा विदेशी सिनेमालाई प्राथमिकता राख्ने गरेको प्रष्ट हुन्छ । होइन भने सेन्सर पास भएका नेपाली सिनेमाले किन शो पाउन सकेनन् ?

‘ऐना झ्यालको पुतली’ निर्देशक सुजित बिडारीले विदेशी सिनेमाको कारण आफ्नो सिनेमाले शो पाउन नसकेको उल्लेख गरेका छन् ।

‘भोलि रिलिज हुने सिनेमाको लागि अहिलेसम्म शो पाउन सकेका छैनौं । कुन हल कुन समयमा जाउँ भनेर सोध्नेहरुलाई जवाफ दिन सकिरहेका छैनौं । एउटा शो खुलेको छ एफक्युबमा । दिउँसो १२.१५ को पुरै अफ टाइममा । ‘ऐना झ्यालको पुतली’ बाच्नु पर्छ जस्तो लाग्छ भने भोलि छुट्टीपनि हो । थाहा भएको त्यहि एउटा शो हो । सपरिवार त्यतै भेटौ न त ।’ बिडारीले लेखेका छन् ।

यसै बीच ‘ब्रमास्त्र’संगै नेपालमा तेलुगु सिनेमा ‘सीता रामम’को हिन्दी भर्सनपनि भित्रिएको गोप्य सुचना बाहिरिएको छ । यिनै दुई सिनेमाको सेन्सरका कारण नेपाली सिनेमाले अहिलेसम्म शो पाउन सकेका छैनन् ।