भिआइपी शोमा पनि रुचाइयो ‘झिँगेदाउ’, सबैले भने उत्कृष्ट सिनेमा

भिआइपी शोमा पनि रुचाइयो ‘झिँगेदाउ’, सबैले भने उत्कृष्ट सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सफलताका साथ् प्रदर्शन भैरहेको सिनेमा ‘झिँगेदाउ’को भिआइपी शो सम्पन्न भएको छ ।

राजधानीको क्युएफएक्स दरबार सिनेम्याक्समा आयोजित भिआइपी शोमा सिनेमा क्षेत्रका अग्रज हस्तीहरुको उपस्थिति रह्यो । शोमा केहि राजनीतिज्ञ र पत्रकारहरुको पनि उपस्थिति थियो ।

सिनेमा हेरेपछि अधिकांस पाहुनाले ‘झिँगेदाउ’को तारिफ गरेर थाकेनन् । विशेष गरि निर्देशकीय पक्ष, प्रस्तुति र कलाकारहरुको अभिनयको खुलेरै तारिफ गरे ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सिनेमाले यतिबेला उत्साहजनक व्यापार गरिरहेको छ । निर्देशक देउजाले सिनेमाले पहिलो साता नै घरेलु बक्सअफिसबाट लगानी रिकभर गरेको बताए ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्मित सिनेमामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतका कलाकारहरुको अभिनय छ ।

भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित सिनेमाको लेखन प्रदीप भारद्वाजले गरेका हुन् ।

सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।

यस्तो छ भिआइपी शोको प्रतिक्रिया

राजेश हमाल (अभिनेता)

यो सिनेमाले नेपालको एउटा समयलाई प्रतिनिधित्व गर्छ । त्यस समयको भावना, जीवनशैली, रहनसहन, मनमुटाव झल्काइएको छ । अन्त्यमा गएर पारिवारिक कलहले आमाहरु बिचलित हुनु पर्ने अवस्थाको संदेश प्रवाह गरेको छ । अहिलेको सन्दर्भमा पाठ सिकाएको छ । आमा-बुबाप्रति सन्तानको भूमिका कत्तिको महत्वपूर्ण हुन्छ भन्ने कुरा देखाएको छ ।

ज्ञानेन्द्र देउजा जीले एकदमै राम्रो सिनेमा बनाउनु भएको छ । कृतिका आधारित भएका कारण सिनेमा रोचक बनेको छ । कथा शैलीमा भएका कारण सबैलाई बाँध्न सक्छ । दृश्यपिच्छे यसपछि के हुन्छ भन्ने कौतुहलता जगाउछ । राम्रो प्रवाहमा सिनेमा बगेको छ । उतारचढाव छ । बिभिन्न भावनासंग खेलेको छ । अन्तमा आएर पिडादायकपनि छ ।

राजेन्द्र लिङ्गदेन (राप्रपा अध्यक्ष)

हामि नेपालीले हेर्नु पर्ने सिनेमा बनेको छ । यसले नेपाली समाज चित्रण गरेको छ । देशमा बृद्धहरुलाई कस्तो किसिमको समस्या छ ? उहाँहरु के कारणले बृद्धाआश्रममा पुग्नु परेको छ ? त्यसलाई संदेशमुलक ढंगले प्रवाह गरिएको छ । युवाहरुले हेर्नै पर्ने सिनेमा हो । हाम्रो समाज बुझ्नलाई यो सिनेमाले सहयोग पुर्याउने मैले अपेक्षा लिएको छु ।

तुलसी घिमिरे (निर्देशक)

मैले धेरैपछि एउटा इमोशनल सिनेमा हेरेँ । हिउँवाला गौतम र संगम भण्डारी सिनेमा खम्बा जसरी प्रस्तुत हुनु भएको छ । नेपाली सामाजिक सिनेमा, नेपाली रंग, नेपाली स्वाद यसमा पाउनु हुनेछ । यस्तो खालको सिनेमा अझै बन्नु पर्छ । कलाकारहरु धेरै राम्रो । लोकेशनपनि राम्रो लाग्यो । कथा राम्रोसंग बुनिएको छ । साउण्ड राम्रो छ । छायांकन र सम्पादन ‘स्मुथ’ छ । यो राम्रो टेक्निकल सिनेमा हो ।

किरण केसी (हास्यकलाकार)

समग्र रुपमा ‘झिँगेदाउ’ अत्यन्त राम्रो सिनेमा बनेको छ । यसअघि नै ज्ञानेन्द्र देउजा भाई ऐतिहासिक सिनेमा निर्माणमा आफुलाई प्रमाणित गरिसक्नु भएको छ । यसमापनि उहाँले हरेक सानो-सानो कुरालाई केलाएर उत्कृष्ट सिनेमा बनाउनु भएको छ । सबै कलाकारले स्पेशल काम गरेर देखाउनु भएको छ । संगम भण्डारीले बबाल अभिनय गर्नु भएको छ । हिउँवाला गौतमले ह्वाँ ह्वाँ नै रुवाउनु भयो । केकी र आँचललाई पनि धेरै धेरै धन्यवाद ।

मदनकृष्ण श्रेष्ठ (वरिष्ठ अभिनेता)

हिजो आज नेपाली सिनेमा क्षेत्र धेरै माथि पुगेको महशुस गरेको छु । जुन हेर्यो त्यहि राम्रो । सबै बेग्लै किसिमका । यो फेरि बेग्लै किसिमको राम्रो रहेछ । निर्देशकीय पक्ष राम्रो भएर होला सिनेमाले ग्रिप गरेको छ । सबै कलाकारले राम्रो काम गर्नु भएको छ । समग्रमा उत्कृष्ट लाग्यो सिनेमा ।

पुरन जोशी (अभिनेता)

सिनेमा निर्देशकीय र कलाकारिताको हिसावले उत्कृष्ट बनेको छ । निर्देशकले राम्रोसंग स्क्रिन प्ले गर्नु भएको छ । मूना-मदन जस्तै उत्कृष्ट मौलिक सिनेमा बनेको छ । यो कुनै सिनेमाको कपि होइन । यस्तो सिनेमा अन्तर्राष्ट्रिय मन्चमा पुग्नु पर्छ ।

अशोक शर्मा (निर्देशक/निर्माता/वितरक)

मैले तेस्रो पटक हो सिनेमा हेरेको । मन छुने ठाउँ धेरै छन् सिनेमामा । इन्ड फ द पार्टमा एकदमै रुवाउछ । हरेक छोरा-छोरी र आमालाई महशुस हुन्छ । मूना-मदनपछि निर्देशक ज्ञानेन्द्र देउजाको काम उत्कृष्ट लाग्यो ।

निर शाह (अभिनेता/निर्देशक)

कृतिमा निर्देशक देउजाले अत्यन्त न्याय गर्नु भएको छ । ‘झिँगेदाउ’ कथामा सिनेमा बनाउनु भनेको एकदमै गाह्रो कुरा हो । जुन प्रस्तुति लिएर उहाँले कथा भन्ने शैलीलाई अगाडी बढाउनु भयो । त्यसले एउटा प्रभावकारी सिनेमा बन्नमा मद्धत गरेको छ । यो एकदमै मौलिक छ । कति वर्षपछि सिनेमामा तपाईले नौलो कुरा गरेको अनुभूति गर्नु हुन्छ । त्यो नौलो कुरा भनेको आफ्नो पन हो । शहरबाट टाढा रहेर गाउँले वातावरणमा मानवीय समवेदनाशिलताको यो गहिराइमा पुगेर सिनेमा बनाउनु भनेको प्रशंसायोग्य कुरा हो ।

कृष्ण मल्ल (अभिनेता)

टेस्ट अफ द बेस्ट । उत्कृष्ट सिनेमाको स्वाद लिइयो आज । कलाकारहरुको अभिनयले मा जित्यो । हिउँवाला गौतम जीले रुवाउनु भयो ।

शिव श्रेष्ठ (अभिनेता)

सिनेमाले म्यासेज र इन्टरटेनमेन्ट प्रवाह गरेको छ । यो सिनेमा हेर्ने जति हरेक छोरा-बुहारीले आमाप्रतिको दायित्व सम्झिनु हुनेछ । जुन किसिमले निर्देशकले एउटा कथालाई उत्कृष्ट सिनेमाको स्वरुप दिनु भएको छ । त्यसको लागि सेल्युट गर्छु ।

सरोज खनाल (अभिनेता)

पछिलो समय मलाई हामीले नेपाली सिनेमा बनाउन बिर्सेउ कि जस्तो लागिरहेको थियो । ज्ञानेन्द्र देउजा जीले शुद्ध नेपाली सिनेमा बनाइदिनु भयो । त्यसको लागि उहाँको साहसलाई म सलाम गर्छु । हाम्रो नेपाली पन मरेको छैन । अझैपनि नेपाली दर्शकले यस्तै खालको सिनेमा हेर्न चाहन्छ ।

बद्रि अधिकारी (वरिष्ठ निर्देशक)

कलाकारको कुरा गर्दा सिनेमा अभिनयप्रधान लाग्यो । छायांकन, सम्पादन, निर्देशन, प्रस्तुति सबै उत्कृष्ट छ । पठनीय साहित्यलाई सिनेमामा उतार्नु चानचुने कुरा होइन । त्यो चुनौतीलाई लिएर निर्देशकले उत्कृष्ट सिनेमा बनाउनु भएको छ । विश्वमा यस्तै सिनेमाले हो प्रतिनिधित्व गर्ने । यो भन्दा मौलिक कुन सिनेमा होला र ?

दिनेश डिसी (संचारकर्मी/निर्देशक)

मैले पहिले नै पढेको कथा हो । पढिसकेको कथाले नछुन पनि सक्थ्यो । तर, सिनेमाले मन छोयो । निर्देशक जीले राम्रो काम गर्नु भएको छ । कलाकारको अभिनय सबैको उत्कृष्ट छ । प्रदीप भारद्वाजको लेखन राम्रो छ ।