मह जोडीको ‘महापुरुष’बाट डेव्यु गर्दै अन्जना बराईली

मह जोडीको ‘महापुरुष’बाट डेव्यु गर्दै अन्जना बराईली

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको सिनेमा ‘महापुरूष’बाट अन्जना बराईली अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् । मोडलिङ र म्युजिक भिडियोमा अभिनय गरिसकेकी अन्जना यो सिनेमामा अडिसन मार्फत छानिएकी हुन् । उनले सिनेमामा प्रतिष्ठाको भूमिका निवार्ह गरेकी छिन् ।

अन्जनाले ‘महापुरुष’मा मदनकृष्ण श्रेष्ठको छोरीको भूमिका निर्वाह गरेकी छन् । अडिसनमा देखाएको अभिनयले नै उनलाई सिनेमामा ‘सेलेक्ट’ गरिएको कलाकार तथा कार्यकारी निर्माता रहेका रबिन्द्र सिंह बानियाँले बताए । ‘हामीलाई चाहिएको जस्तै उहाँमा पायौँ । अडिसनमा दिइएको फरक तीन भूमिकालाई उहाँले निभाउनु भएको दृश्यले हामीलाई प्रभावित बनायो । धेरैको अडिसन लिएता पनि उहाँ भूमिका सुहाउँदो भएकाले सेलेक्ट गरेका हौँ’ बानियाँले भने ।

एउटा राम्रो सिनेमाको खोजीमा रहेकी अन्जना पनि यो टिमसँग जोडिन पाउँदा खुसी छिन् । ‘मैले केहि सिनेमामा अडिसन पनि दिएकी थिएँ । एक सिनेमामा सेल्केट भएर केहि समय प्रतीक्षा पनि गरें । तर त्यो सिनेमा बनेन् । पछि यसमा अडिसन दिएँ’ उनले भनिन् । मह जोडी र प्रदीप भट्टराईको निर्देशनमा काम गर्न पाउँदा उनको सिकाई पनि भएको छ । ‘म यहाँको लागि नौलो मान्छे । मलाइ रबिन्द्र दाई र प्रदीप दाईले राम्रोसँग गाइड गर्नु भयो । अभिनयलाई प्रस्तुत गर्ने शैली सिकाउनु भयो’ उनले भनिन् ।

यसै सिनेमा मार्फत अन्जना झैँ अरुण क्षेत्री पनि डेब्यु गर्दैछन् । उनले सिनेमामा हरिवंश आचार्यको छोराको भूमिका निर्वाह गरेका छन् । अरुणको चरित्रको नाम विज्ञान हो । उनी सिनेमामा हरिवंशका कान्छा छोरा हुन्छन् । उनी पनि सिनेमामा अडिसन मार्फत सेलेक्ट भएका हुन् । त्यसो त अडिसन भएको एकहप्ता पश्चात उनलाई ‘सेलेक्ट’ भयौं भन्ने जानकारी आएको थियो । यद्दपि उनले अभिनय गरेको दोस्रो सिनेमा ‘महापुरूष’ आउँदो कार्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ ।

सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय छ ।

सिनेमामा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । सोसल ड्रामा ‘महापुरूष’मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थितिलाई व्यंग गरिने छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । यिनै भट्टराई अब चौथो सिनेमा लिएर आउँन लागेका हुन् । उनी यसपटक यसअघिका सिनेमा भन्दा झनै कन्फीडेन्ट छन् ।

षट्कोण आर्ट्स प्रालिको व्यानारमा निर्मित सिनेमामा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा सिनेमा निर्माण गरेको छ । कलाकार समेत रहेका रबिन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन् । ‘सामाजिक कथावस्तुमा सिनेमा बनाएका छौँ । आफ्नै मौलिक कथा र नाम ‘महापुरूष’ राखेका छौँ । हामीले अघिल्लो गरेका कामहरु भन्दा यसपटक झनै माझिएका छौँ’ उनले भने ।

सिनेमामा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ । यही सिनेमाबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा सिनेमामा डेब्यु गर्दैछन् । चार गीत रहने सिनेमाका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहेको छ । सिनेमाको पार्श्व ध्वनिमा रोहित शाक्य/शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा किशोर आचार्य, रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन् ।