नेपालबाट ‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डका लागि सिफारिस

नेपालबाट ‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डका लागि सिफारिस

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपालबाट सुजित बिडारी निर्देशित सिनेमा ‘ऐना झ्यालको पुतली’लाई ९५औं द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (ओस्कार) मा पठाइने भएको छ । ओस्कारका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर सिनेमा छनोट समितिको सोमवार बसेको बैठकले आवेदन प्राप्त सिनेमामध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो । यो सिनेमा अहिले प्रदर्शनरत छ ।

नेपालको अन्तर्राष्ट्रिय फिचर सिनेमा छनोट समितिले ओस्कार अवार्डमा प्रतिस्पर्धाका लागि भदौ ३० गतेभित्र सिनेमा बुझाउन सिनेमाकर्मीलाई विज्ञप्तिमार्फत् आग्रह गरेको थियो । जसअनुरुप दिनेश राउत निर्देशित ‘प्रकाश’, सुवर्ण थापा निर्देशित ‘राधा’ र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले आवेदन दिएका थिए । तीनै सिनेमाले यस वर्ष समीक्षात्मक रुपमा प्रशंसा कमाएका थिए ।

ओस्कार अवार्ड आगामी मार्च १२ का दिन आइतबार लस एञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ । विमल पौडेल अध्यक्ष रहेको ओस्कारका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर सिनेमा छनोट समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली ‘कपील’ र चिरञ्जीवी गुरागाईं सदस्यमा छन् ।

सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मकता बुनोट आदिलाई मध्यनजर गरेर ‘ऐना झ्यालको पुतली’लाई ओस्कारमा पठाउने निर्णय गरेको छनोट समितिका सचिव चिरञ्जीवी गुरागाईंद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।