‘बाबरी’को क्यारेक्टर ‘कम्फर्ट जोन’भन्दा बाहिरको : अदिति बुढाथोकी

‘बाबरी’को क्यारेक्टर ‘कम्फर्ट जोन’भन्दा बाहिरको : अदिति बुढाथोकी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री अदिति बुढाथोकीले ‘कृ’ मार्फतत नेपाली सिनेमा क्षेत्रमा पाइला चालेककी हुन् । त्यसअघि उनी मुम्बई बसेर मोडलिङ क्षेत्रमा संघर्ष गरिरहेकी थिइन् । डेब्यू सिनेमा प्रदर्शनपछि उनी पुनः मुम्बई फर्किइन् । त्यो समयमा उनलाई केही सिनेमाबाट प्रस्ताव समेत आएका थिए । तर, उनले सिनेमामा काम गर्ने मन देखाइनन् । अन्ततः उनले होम प्रोडक्सनको सिनेमा ‘बाबरी’बाट चार वर्षपछि कमब्याक गरेकी छन् ।

असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमामा उनको जोडी धिरज मगर र धिरज टोटलानीसँग बाँधिएको छ । लामो समयको विश्रामपछि सिनेमामा फर्किएकाले अदितीलाई बाबरी चल्नै पर्ने दबाबमा छिन् । ‘कृ’मा भन्दा बढी स्ट्रेस महसुस भएको बताउने उनी यो सिनेमा आफ्नो लागि विशेष रहेको बताउँछिन् । ‘बाबरी’को क्यारेक्टर निर्वाह गर्न चुनौती भएको पनि अदितीको भनाई छ ।

अदिति भन्छन्, ‘पहिलो सिनेमाभन्दा ‘बाबरी’मा मेरो क्यारेक्टर धेरै नै फरक छ । दुवै सिनेमाको क्यारेक्टर त गाउँकै हो तर ‘बाबरी’मा मेरो क्यारेक्टर बोल्ड, पढेलेखेको, आफ्नो निर्णय आफैंले गर्न सक्ने, कसैसँग नडराउने खालको छ । मलाई ‘कृ’भन्दा ‘बाबरी’को क्यारेक्टर निर्वाह गर्न बढी नै चुनौती महसुस भएको थियो । आफ्नो ‘कम्फर्ट जोन’भन्दा बाहिर निस्केर अभिनय गर्नुपरेको थियो ।’

होम प्रोडक्सनको सिनेमामा काम गर्दा धेरै तनाव हुने अभिनेत्री बुढाथोकीको अनुभव छ । आमा-बुबा सिनेमा क्षेत्रमा नयाँ भएकाले धेरै कुरामा आफूले सघाउनु परेको उनी बताउँछिन् । तर, होम प्रोडक्सनको सिनेमा भएर भन्दा पनि आफ्नो दोस्रो सिनेमा भएकाले बढी तनाव र दबाब रहेको उनको बुझाई छ । आफूप्रति दर्शकले राखेको अपेक्षा सिनेमाले पूरा गर्छ वा गर्दैन भन्ने डर उनीमा छ ।

‘कृ’ प्रदर्शन हुने वितिक्कै होम प्रोडक्सनको सिनेमा गर्ने फाइनल भएकाले पनि त्यो बीचमा आफूले बाहिरी ब्यानरको सिनेमामा काम नगरेको अदितीले स्पष्ट पारेकी छन् । ‘बाबरी’को प्रदर्शनपछि राम्रो स्क्रिप्ट र टिमबाट अफर आए बाहिरी ब्यानरको सिनेमा गर्ने तयारी अदितिको छ ।

सुरेन्द्र पौडेल निर्देशित सिनेमामा अदिति बुढाथोकी, धिरज मगर, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ ।

ट्रेलर, गीत र स्टारकास्टका कारण चर्चामा रहेको सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण रहेको छ । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत, स्वयंम निर्देशक पौडेलले सम्पादन गरेका हुन् ।