‘२ नम्बरी’ प्रचारको लागि नेपाल आइन् भुटानी अभिनेत्री उगेन

‘२ नम्बरी’ प्रचारको लागि नेपाल आइन् भुटानी अभिनेत्री उगेन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी छन् । असोज २१ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘२ नम्बरी’को प्रचारमा हिँड्न बिहीवार विहान उनी नेपाल आइपुगेकी हुन् । भुटानको सिनेमा उद्योगमा ठूलो नाम बनाएकी उनले ‘२ नम्बरी’बाट नेपाली सिनेमामा अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । अब, उनले सिनेमा प्रदर्शन नहुन्जेलसम्म नेपालमा बसेर प्रचारमा साथ दिनेछिन् ।

सिनेमाका कलाकार अन्य सिनेमामा व्यस्त हुँदा यसको निर्माणपक्षले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन । तर, अब उगेन नेपाल आएसँगै केही दिनमै ट्रेलर सार्वजनिक गर्ने तयारी गरिएको छ । सिनेमामा उगेनको जोडीको रुपमा अभिनेता दयाहाङ राई छन् । उनी सिनेमाको छायांकन सकेर गत वर्ष भुटान फर्किएकी थिइन् । उनी आफ्नो पहिलो नेपाली सिनेमालाई लिएर उत्साहित छिन् ।

सिनेमामा अभिनेता सौगात मल्ल पनि मुख्य भूमिकामा छन् । दयाहाङ र सौगात एकसाथ देखिएकाले ‘२ नम्बरी’ दर्शकमाझ प्रतिक्षीत छ । सिनेमाले उनीहरुको मित्रताको कथा बोल्छ । यसअघि सार्वजनिक गीत र टिजरमा पनि त्यो देखिन्छ । सिनेमाको निर्मातामा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठ छन् भने किरण नेपाली प्रस्तुतकर्ताको हुन् ।

सिनेमाको निर्देशन तथा लेखन दीपेन्द्र लामाको हो । सरोज नेपाली कार्यकारी निर्माता रहेको सिनेमाको सह-निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् । सिनेमामा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको दृश्य सम्पादन र जयन जे वाइवाको संगीत रहेको छ ।