दर्शक साक्षात्कार गर्न ‘हिजो आजका कुरा’ टिम मोफसलमा

दर्शक साक्षात्कार गर्न ‘हिजो आजका कुरा’ टिम मोफसलमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पारिवारिक सिनेमा ‘हिजो आजका कुरा’ले शुक्रबारबाट मोफसल प्रचार यात्रा सुरु गर्दैछ । बरिष्ट हास्यकलाकार सन्तोष पन्त निर्मित तथा साकार पन्त निर्देशीत सिनेमाका मुख्य कलाकारहरु शुक्रबार बिहान १०ः३० बजे नेपालगंजस्थित भाटभटेनी सुपरमार्केटमा दर्शकहरुसँग साक्षात्कार गर्नेछन् । त्यसका लागि कलाकारको जम्बो टोलीले शुक्रबार बिहान काठमाडौबाट उडान भर्नेछ ।

प्रदर्शन मिति नजिकिदै जादा प्रचारलाई ब्यापक बनाउँदै लगेको ‘हिजो आजका कुरा’ असोज २८ बाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा छ । करिब १२ बर्षसम्म नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भएको टेलिश्रृंखला ‘हिजो आजका कुरा’ अहिले सोही नाममा ठूलो पर्दाको सिनेमाको रुपमा दर्शकमाझ आउँदैछ । यसै सन्दर्भमा आफूहरुले आफ्ना प्रिय दर्शकलाई प्रत्यक्ष भेट्ने चाहना स्वरुप ‘प्रमोशन टुर’ थालीएको निर्देशक साकारले बताए ।

नेपालगंजपछि ‘हिजो आजका कुरा’ को जम्बो टोली शनिबार पूर्वी नेपालका तीन मुख्य शहर धरान, इटहरी र बिराटनगर पुग्ने छ । सेड्युल अनुसार शनिबार बिहान ११ बजे धरानको भाटभटेनी सुपरमार्केट, २ बजे इटहरीको भाटभटेनी सुपरमार्केट र साँझ ४ः३० बजे बिराटनगरको भाटभटेनी सुपरमार्केटमा सिनेमाका कलाकार सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, जेबिका कार्की, दिब्यदेव, बिनय कुइँकेल, अनुष्का अधिकारीलगायत निर्देशक साकार पन्तले दर्शकसँग भलाकुसारी गर्नेछन् ।

मोफसलको पहिलो चरणको यात्रापछि टोली दोश्रो चरणमा पोखरा, चितवन, हेटौडालगायतका शहरमा पुग्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । गीतसंगीत तथा टे«लरबाट समेत दर्शकको ध्यान तान्न सफल सिनेमामा नेपाली समाजको बर्तमान अबस्था, पारिवारिक आरोहअबरोह, नेपालीको बिदेश मोहलगायतका बिबिध समसामयिक बिषय उठान गरिएको छ ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित सिनेमाको कथा अभिनेता पन्तकै हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको सिनेमाको कार्यकारी निर्माता प्रतिभा पन्त, सह-निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र छन् । सेन्सर बोर्डबाट युनीभर्सल सर्टिफिकेट प्राप्त सिनेमाको बितरण मोफसलमा एफडि र राजधानीमा आरआर फिल्मस्ले गर्दैछ ।

सिनेमामा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतले अभिनय गरेका छन ।