दशैँमा मनोरन्जन लिन ‘बाबरी’ उत्कृष्ट खुराक – सुरेन्द्र पौडेल

दशैँमा मनोरन्जन लिन ‘बाबरी’ उत्कृष्ट खुराक – सुरेन्द्र पौडेल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा सम्पादनमा आफुलाई स्थापित गरिसकेका सम्पादक हुन् सुरेन्द्र पौडेल ।

सम्पादन विधामा दर्जन बढी अवार्ड जितिसकेका पौडेल यतिबेला निर्देशनमा जम्न लागिपरेका छन् । ७ वर्ष अगाडी रिलिज सिनेमा ‘आभास’बाट निर्देशनमा होमिएका पौडेल निर्देशित ‘बाबरी’ यहि असोज १४ देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

‘बाबरी’ अगाडी पौडेलले अनमोल केसी स्टारर ‘कृ’ निर्देशन गरेर आफुलाई प्रमाणित गरेका थिए । आफ्नो तेस्रो सिनेमा ‘बाबरी’बाट पौडेल निक्कै आशावादी देखिएका छन् ।

गीत, संगीत र स्टार कास्टका कारण चर्चामा रहेको सिनेमा ‘बाबरी’ले दर्शकलाई निराश नबनाउने निर्देशक पौडेल दावी गर्छन ।

‘हामीले सिनेमामा हाम्रै समाजको कथा उठाएका छौँ । विषयबस्तुले दर्शकसंग कनेक्ट गर्छ । हाम्रै वरिपरिका पात्रहरु सिनेमामा छन् । सरल र मनोरन्जनात्मक सिनेमा बनेको छ । दर्शकले कथा र पात्रमा अपनत्व महशुस गर्नु हुनेछ । दशैँमा मनोरंजन प्राप्त गर्न बाबरी एक उत्कृष्ट खुराक बन्न सक्छ ।’ पौडेलले भने ।

निर्देशक पौडेल ‘बाबरी’ले भारतीय र नेपालीलाई पनि जोड्ने बताउछन । ‘हामीले कही कतै नेपाल बाहिरका नेपालीको कथापनि छुने प्रयास गरेका छौँ । विदेशमा हुने नेपालीको कथा भन्दा नेपाली सिनेमाको बजार बिस्तारमा सहयोग पुग्ने अपेक्षा लिएका छौँ ।’ पौडेलले अगाडी थपे ।

त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमामा धिरज मगर, अदिति बुढाथोकी र धिरज नाडकरको मुख्य भूमिका छ । सिनेमाको कथा यिनै तीन कलाकारको वरिपरि घुम्छ ।

‘बाबरी रंग’, ‘चुलबुल चुलबुल’ गीत र ट्रेलरले गर्दा सिनेमाको हाइप बढेको छ । गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेको सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

सिनेमामा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको पनि अभिनय छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ ।