विदेशमा ‘ऐना झ्यालको पुतली’को डिमान्ड बढ्यो

विदेशमा ‘ऐना झ्यालको पुतली’को डिमान्ड बढ्यो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘ऐना झ्यालको पुतली’ हलमा तेस्रो हप्ता चलिरहेको छ । तेस्रो हप्तामा पनि दर्शकको राम्रो साथ पाइरहेको सिनेमाले अब चाँडै विदेशमा पनि यात्रा थाल्ने भएको छ । देशमा पाएको प्रतिक्रियाले डायस्पोरामा रहेका दर्शकलाई लोभ्याएपछि अहिले सिनेमा विदेशमा डिमान्ड बढेको छ ।

नेपाली भाषीको बाहुल्य भएका धेरै देशले सिनेमाको प्रदर्शनमा चासो देखाएको र यसको प्रदर्शन अधिकार बिक्ने क्रम जारी रहेको निर्माता आकाश पौडेलले जानकारी दिए । निर्माता आकाश पौडेलका अनुसार सिनेमाको अष्ट्रेलिया र न्युजिल्यान्ड अधिकार भर्खरै बिक्रि भएको छ भने जापानमा सिनेमा केही समय अघि नै बिक्रि भइसकेको छ ।

निर्माता पौडेलले अष्ट्रेलिया र न्युजिल्यान्डमा सिनेमा प्रदर्शनको अधिकार जान्बी इन्टरटेनमेन्टले लिएको जानकारी गराएका छन् । नेपालमा दर्शक र समीक्षकबाट दशककै उत्कृष्ट सिनेमाको प्रतिक्रिया पाएको ऐना झ्यालको पुतलीले दुई देशका लागि १५ लाख हाराहारीमा प्रदर्शन अधिकार बिक्रि भएको निर्माता पौडेलले बताएका हुन् ।

यसैगरी सिनेमा अरब, कोरिया र अमेरिकामा पनि प्रदर्शन हुने तयारीमा रहेको निर्माताले जानकारी दिएका छन् । भर्खरै नेपालबाट ९५ औँ संस्करणको एकेडेमी अवार्ड (अस्कर)का लागि सिफारिस भएको सिनेमाले नेपालको बक्स अफिसमा १ करोड हाराहारी ग्रस गरेको छ ।

बुसानको मुख्य प्रतिस्पर्धामा नेपालबाट छनौट हुने पहिलो सिनेमाको रेकर्ड बनाएको सुजित बिडारी निर्देशित सिनेमाले बंगलादेश ढाकाको अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो । त्योबाहेक सिनेमा विदेशका थुप्रै फेस्टिभलमा पनि छानिएको थियो ।

तीन दशक पुरानो परिवेश र समाजलाई कलात्मक तवरले अभिव्यक्त गरेको भन्दै दर्शकबाट धाप पाइरहेको सिनेमालाई आकाश पौडेलसँगै प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी मिलेर निर्माण गरेका हुन् ।

सिनेमामा सिरु बिष्ट कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटीलगायतको अभिनय रहेको छ । अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पा संगमको संगीत, कला संग्रौलाको प्रोडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ सिनेमामा हेर्न सकिन्छ ।