प्रिमियर शोमा रुचाइयो ‘बाबरी’, धिरज, अदिति र धिरजको अभिनयको तारिफ

प्रिमियर शोमा रुचाइयो ‘बाबरी’, धिरज, अदिति र धिरजको अभिनयको तारिफ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुरेन्द्र पौडेल निर्देशित सिनेमा ‘बाबरी’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । रिलिजको पूर्वसन्ध्यामा बिहीवार साँझ काठमाडौंको बिग मुभिजमा आयोजना गरिएको प्रिमियरमा सिनेमाले राम्रो प्रतिक्रिया बटुलेको छ । प्रिमियरमा उपस्थित अधिकांश पाहुनाले कलाकारको अभिनय, कथावस्तु, छायांकन र गीत-संगीतको प्रशंसा गरेका थिए ।

अभिनेत्री जसिता गुरुङले इन्टरटेनिङ र राम्रो सिनेमामा हुनुपर्ने सम्पूर्ण एलिमेन्ट्स रहेको भन्दै बाबरीको प्रशंसा गरिन् । उनले प्रिमियरमा सञ्चारकर्मीसँग भनिन्, ‘गीतहरु एकदमै राम्रा छन् । कलाकारको काम पनि उत्कृष्ट लाग्यो । छायांकन पक्ष पनि राम्रो छ ।’ उनले सिनेमाका कलाकार धिरज मगर, अदिती बुढाथोकी र डेब्यू ब्वाई धिरज नाडकरको अभिनयको पनि तारिफ गरिन् ।

सिनेमामा अदितीलाई एकदमै सुन्दर र स्ट्रोङ देखिएको बताउँदै जसिताले धिरज नाडकरको अभिनय पनि उत्कृष्ट लागेको बताइन् । धिरजले भारतमा केही काम गरिसकेकाले त्यो अनुभव सिनेमामा देखिएको उनको भनाई थियो । उनले धिरजसँग काम गर्ने इच्छा पनि व्यक्त गरिन् । धिरज मगरसँग भने एक सिनेमामा काम गरिसकेकी जसिताले उनलाई भर्सटायल कलाकार भन्दै प्रशंसामा शब्द खर्चिन् ।

उनले भनिन्, ‘धिरज मगरसँग मैले ‘आई एम ट्वान्टिवान’मा सँगै काम गरेको छु । ‘बाबरी’ हेरेपछि मलाई धिरज भर्सटाइल कलाकार हो भन्ने लाग्यो । मलाई ऊप्रति गर्व छ । मैले पनि सानो राजासाहेब जस्तो माया गर्ने मान्छे पाए हुन्थ्यो भन्ने लागेको छ ।’ पहिलो सिनेमामा भन्दा ‘बाबरी’मा धिरजको अभिनयमा अझ परिपक्वता आएको उनको तर्क थियो ।

प्रिमियरमा उपस्थित भएका कलाकार सन्दीप क्षेत्रीले धिरज मगरको अभिनयले सरप्राइज भएको बताए । आफूले अपेक्षा गरेभन्दा धिरजको अभिनय धेरै माथिको रहेको उनको भनाई थियो । अभिनेत्री बेनिशा हमालले पनि कलाकारदेखि निर्देशकिय पक्षसम्मको प्रशंसा गरिन् । अर्की अभिनेत्री शिल्पा मास्केले एउटा प्याकेजको सिनेमा रहेको बताउँदै कलाकारको काम मन परेको बताइन् ।

प्रिमियर शोमा सिनेमा हेर्न निर्देशक शोभित बस्नेत, निर्माता संघका अध्यक्ष नवल खड्का, निर्माता सुनिल कुमार थापा, निर्देशक नरेश पौडेल, लेखक प्रदीप भारद्धाज, निर्देशक दीपेन्द्र के खनाल, निर्मात्री शर्मिला पाण्डेलगायतको उपस्थिति रहेको थियो । उपस्थिति सिनेमाकर्मी र पत्रकारले सिनेमा राम्रो बनेको भन्दै तारिफ गरेका थिए । निर्देशक सुरेन्द्र पौडलको निर्देशकिय पक्षको पनि उपस्थित पाहुनाले प्रशंसा गरेका हुन् ।

सिनेमामा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो ठुंगोनको पनि अभिनय छ । बाबरी फिल्म्सको व्यानरमा निर्मित सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ ।

तस्वीर : ज्ञानु राई