मल्टिप्लेक्सले शोज घटाएकोप्रति ‘बाबरी’ निर्देशकको आक्रोश

मल्टिप्लेक्सले शोज घटाएकोप्रति ‘बाबरी’ निर्देशकको आक्रोश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदर्शनरत सिनेमा ‘बाबरी’का निर्देशक सुरेन्द्र पौडेलले मल्टिप्लेक्समा शोज घटाइएकोप्रतिआक्रोश व्यक्त गरेका छन् ।

सोमबार राजधानीमा आयोजित एक प्रेसमिटमा बोल्दै दर्शक संख्या राम्रो हुँदाहुँदै मल्टिप्लेक्सले शोज घटाएको र चलचित्र बिकास बोर्डले कुनै कदम नचालेकोमा पौडेलले आक्रोश व्यक्त गरेका हुन् ।

‘दर्शकले तीन तीन पटकसम्म सिनेमा हेरिरहेको बताउनु भएको छ । दसैैँमा टीकापछि बल्ल सिनेमा चल्छ । तर यहाँ त टीकासम्म त एउटा पनि सो बाँकी नरहला जस्तो भो । हाम्रो सो हाउसफुलहुँदा हुँदै अर्कै सिनेमाका लागि सो छुट्याइएको छ, यो हामीमाथि अन्याय हो,’ पौडेलले भने ।

शोज घटाएको बारेमा चलचित्र बिकास बोर्डले कुनैपनि सहयोग नगरेको भन्दै निर्देशक पौडेलले अध्यक्ष भुवन केसीको राजिनामा र बोर्ड खारेजीको मागपनि गरे ।

‘बाबरी’का अभिनेता धिरज मगरले सिनेमा हेर्न जाने भनेका दर्शकबाट उपयुक्त शो नमिलेको गुनासो आएको बताए । ‘कति जनाले दोहोर्याएर सिनेमा हेर्न चाहनु भएको छ । तर उहाँहरुको तिर शोज नै छैन । भएपनि सहि समयमा छैन ।  कसको दोष हो मलाई थाहा छैन तर दर्शकले हेर्न खोज्दा खोज्दै पनि हाम्रो फिल्म हेर्न पाइरहनु भएको छैन ।’ मगरले भने ।

अभिनेत्री अदिति बुढाथोकी र निर्मात्री पुष्पलता बुढाथोकीसमेतले शोज घटाइएको बारे दु:ख व्यक्त गरे । साथै सम्बन्धित पक्षले आफ्नो पिडा सुनेर शोज थपिदिने आशा व्यक्त गरे ।

यसै शुक्रबारदेखि प्रदर्शनमा आएको ‘बाबरी’ले प्रिमियरमा राम्रो प्रतिक्रिया बटुलेको थियो । साथै दर्शकले पनि सिनेमालाई राम्रो भनेका छन् ।

यस त्रिकोणात्मक प्रेमकथामा धिरज र अदितिका अलावा धिरज नाडकरको मुख्य भूमिका छ ।

सिनेमामा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो ठुंगोनको पनि अभिनय छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ ।

बाबरी फिल्म्सको व्यानरमा निर्मित सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण छ ।