स्पेशल शोमा ‘दुई नम्बरी’लाई उत्कृष्ट प्रतिक्रिया

स्पेशल शोमा ‘दुई नम्बरी’लाई उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदर्शनरत सिनेमा ‘दुई नम्बरी’को राजधानीमा विशेष शो सम्पन्न भएको छ । आइतबार सम्पन्न शोमा आगन्तुक पाहुना र पत्रकारले सिनेमा तारिफ गरे ।

दीपेन्द्र लामा निर्देशित सिनेमा हेर्न सन्तोष पन्त, नवल खड्का, शोभित बस्नेत, पूजा शर्मालगायतका सिनेकर्मी विश्वज्योति सिनेप्लेक्स पुगेका थिए ।

विशेष गरि पाहुनाले निर्देशकीय पक्ष, कलाकारको अभिनय र सिनेमाले प्रवाह गरेको संदेशको मुक्तकण्ठाले तारिफ गरे ।

मित्रता र बन्यजन्तु शिकारको कथा बोकेको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ, पुस्कर गुरुङ, श्रेयष पौडेल, कविता आले, शारदा गिरी, प्रकाश घिमिरे, सुष्मा निरौलालगायतका कलाकारहरुको अभिनय छ ।

असोज २१ देखि प्रदर्शनमा आएको सिनेमाले बक्सअफिसमा लगातार राम्रो व्यापार गरिरहेको छ । रिलिजको चौथों दिनसम्म दर्शक अकुपेन्सी राम्रो छ । सोमबारपनि सिनेमाको शोज हाउसफुल गएका छन् । बलियो ‘वर्ड अफ माउथ’ मिलेको सिनेमाले बक्सअफिसमा आफुलाई सुरक्षित अवतरण गराउने अपेक्षा लिइएको छ ।

सुशन प्रजापतिले खिचेको सिनेमामा जयन जे वाइवा/भुषण खतिवडाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र निमेष श्रेष्ठको सम्पादन छ ।

रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाका प्रस्तुतकर्ता किरण नेपाली हुन् । सरोज नेपाली कार्यकारी निर्माता रहेको सिनेमामा दीपक मनाङ्गे (राजीव गुरुङ), अमलादेवी राई, जयस श्रेष्ठको निर्माण र मिठु तामाङ्नीको सहनिर्माण छ ।

यस्तो छ पाहुनाको प्रतिक्रिया:-

सन्तोष पन्त

हाम्रो समाजको अर्ग्यानिक सिनेमा । गाउँ परिवेशको बेरोजगार युवाहरुको कथा, शिक्षा मुलक, युवाहरु गलत बाटोमा लाग्नुको कारण समेटिएको छ । गाउँ परिवेशमा बनेको एकदमै मनोरन्जनात्मक सिनेमा लाग्यो । अन्त्यमा शिक्षा मुलक पाएँ । अहिलेको युवापुस्ताले हेर्नु पर्ने सिनेमा बनेको छ ।

शोभित बस्नेत

दीपेन्द्र लामाले यसअघि आफ्नो लागि सिनेमा बनाउथ्ये । अहिले दर्शकको लागि बनाएका छन् । जसको परिणामपनि राम्रो आएको छ । दर्शकले माग अनुसारको सिनेमा भएर राम्रो बनेको छ । सौगात जी, दयाहाङ जीले राम्रो काम गर्नु भएको छ । उगेन जीलाई नेपाली सिनेमा क्षेत्रमा स्वागत गर्न चाहन्छु । रिलिजको तेस्रो दिन आज । तर मैले दोस्रो पटक सिनेमा हेरें ।

नवल खड्का

दुई नम्बरी वास्तवमा एक नम्बरको सिनेमा बनेको छ । सानो सानो कुरा ठुलो कुरा लुकेको हुन्छ भन्ने संदेश दिएको छ । दीपेन्द्र लामा निर्देशकको उत्कृष्ट काम पाएँ । दयाहाङ, सौगात, उपासना, उगेन, बुद्धिलगायतका कलाकारको काम उत्कृष्ट छ । आफ्नो पन र माटोको सुगन्ध यसमा पाइन्छ ।

पूजा शर्मा

मैले ‘पोइ पर्यो काले’ गर्दा किरण नेपालीले समाज मै घटेको घटनालाई ल्याएर सिनेमा बनाउनु भएको थियो । अहिलेपनि हामीले हाम्रै वरिपरि देखिरहेको कथालाई उठाउनु भएको रहेछ । यथार्थपरकमा आधारित भएर एकदमै राम्रो सिनेमा बनाउनु भएको छ । अन्तिमको संदेश राम्रो थियो । युवापुस्ताले हेर्नु पर्ने सिनेमा ।