बक्सअफिसमा सफल भएसँगै ‘२ नम्बरी’ टिमले प्राविधिकलाई बोनस बाँड्ने

बक्सअफिसमा सफल भएसँगै ‘२ नम्बरी’ टिमले प्राविधिकलाई बोनस बाँड्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ल अभिनीत सिनेमा ‘२ नम्बरी’ले घरेलू बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । दर्शकबाट बलियो ‘वर्ड अफ माउथ’ मिलेका कारण प्रदर्शनको पाँचौं दिनसम्म पनि सिनेमाको व्यापारमा गिरावट आएको छैन । सिंगल थिएटर र मल्टीप्लेक्स दुवैतिर दर्शक अकुपेन्सी राम्रो छ ।

बडा दशैंको अवसर पारेर असोज २१ गतेबाट प्रदर्शनमा आएको सिनेमाका निर्माता किरण नेपालीको भनाईलाई विश्वास गर्ने हो भने सिनेमाले नाफा व्यापार गरिसकेको छ । यसैले उनले सिनेमा निर्माणको क्रममा नेपथ्यमा बसेर काम गरेका प्राविधिकलाई बोनस बाँड्ने घोषणा गरेका छन् । उनले भने-‘सिनेमा निर्माणको समयमा कम पारिश्रमिकमा निक्कै दुःख गरेर काम गर्नुभएका प्राविधिकहरुलाई हामी बोनस दिन्छौं ।’

बोनस रकम कति दिने भन्नेबारेमा केही दिनमा टुंगो हुने उनको भनाई छ । सिनेमाले गर्ने लाइफ टाइम कलेक्सननको आधारमा प्राविधिकलाई बोनस दिने उनको योजना छ । नेपालमा सिनेमा हिट भएपछि निर्माताले छायांकनको समयमा प्राविधिकले गरेको दुःख सम्झिएर बोनस दिएका कमै उदाहरण छन् । प्राविधिकको हौसला बढाउन पनि बोनस दिने संस्कार बसाल्न आवश्यक छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेनको पनि मुख्य भूमिका रहेको छ । सिनेमा हेरेका अधिकांश दर्शकले सौगात मल्लको अभिनय, पञ्चलाइनलाई बढी रुचाएका छन् । सिनेमाले समीक्षकबाट भने मिश्रित प्रतिक्रिया पाएको छ । दर्शकले भने सिनेमालाई मनोरञ्जनको खुराक भनेका छन् ।